परिचयपत्र छपाईमा व्यापक अनियमितता भएको कांग्रेसको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय परिचयपत्र छपाईको ठेक्का बद्नाम र असफल कम्पनीलाई दिई व्यापक अनियमितता गरेको भन्दै सत्यतथ्य बाहिर छानविन गर्न माग गरेको छ ।
बिहिबारको संसद बैठकमा विशेष समयमा सांसद दिलेन्द्रप्रसाद बडूले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत प्रतिस्पर्धा नै नगराई दिएको र मन्त्रिपरिषद्ले बद्नाम पुरानै फ्रान्सेली कम्पनीलाई दिने निर्णय गरेको भन्दै विरोध गर्नुभयो ।
राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागले राती ११ बजे आफ्नै कार्यकक्षमा पौने २ अर्बको ठेक्का गरेको बडुको आरोप थियो । ठूलो रकमको ठेक्का कानूनविपरीत दिएर रकम चलखेल भएको आशंका भएकोले त्यसबारेमा छानविन गरी सदनलाई यथार्थ जानकारी गराउन भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
२०७५ साल पुस २० मा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक २०७५’ छलफलका लागि संसदमा दर्ता भई राज्यव्यवस्था समितिमा माघ २० मा विधेयकमाथि छलफल सुरु भएपनि अहिले स्थगित छ ।