विदेश

भारतीय संविधानको धारा ३७० खारेजपछि पाकिस्तानले लियो यस्तो कदम

भारतीय संविधानको धारा ३७० खारेजपछि पाकिस्तानले लियो यस्तो कदम

इस्लामाबाद । पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ । जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको हो ।

“हामीले हाम्रा राजदूतलाई दिल्लीबाट स्वदेश फिर्ता गर्ने छौँ भने उनीहरूका प्रतिनिधि पनि फिर्ता पठाउने छौँ,” पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद क्वुरेशीले भने । उनले भारतसँगको पाकिस्तानको कूटनीतिक सम्बन्धको स्तरलाई न्यूनीकरण गरिएको पनि बताए । भारतको पछिल्लो निर्णयका विरुद्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने उनको भनाइ छ ।  

जम्मू कश्मीरलाई दिइएको विषेश अधिकारलाई केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् बढ्दै गएको छ । भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ ।

हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन् । भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेकाले तीन दशकमा हजारौँको मृत्यु भएको र गरिबी झनै बढ्दै गएको भारतको दाबी छ । गरिबी बढेको, विकास रोकिएको र द्वन्द्व अन्त्य हुन नसकेकाले केन्द्र सरकारले जिम्मेबारी लिनु परेको केन्द्रीय मन्त्रीहरूको भनाइ छ ।   

इमरान खान नरेन्द्र मोदी धारा ३७० खारेजी

विशेष