३० वर्षेले नेपाल टेलिकममा हंगामा, आज टेलिकम बैठक, आजै युनियनहरुकाे बैठक बस्ने
काठमाडौँ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाको चाहनाअनुरुप नेपाल टेलिकमभित्र ३० वर्षे अनिवार्य अवकाश ल्याइने भएपछि यस विषयलाई लिएर नेपाल टेलिकमभित्र अर्को हंगामा खडा भएको छ । फोरजी विस्तारमा भ्रष्टाचारको विरोध गर्ने कर्मचारीहरुलाई पदबाट हटाउन व्यवस्थापनले ३० वर्षे सेवा अवधि लागू गर्ने तयारी गरेपछि यसबारे टेलिकमले आज बैठक डाकेको छ ।
नेपाल दुरसञ्चार कर्मचारी संघ आधिकारी ट्रेड युनियनका अध्यक्ष यादव प्रसाद पनेरुले ३० वर्षे लागु गर्नेबारे अझै आफूहरुको हातमा पत्र नपरेको दाबी गरे। नेपाल आजसँगको कुराकानीमा पनेरुले भने –‘‘यसबारे आज टेलिकमले बैठक डाकेको छ । त्यसपछि हामी कर्मचारी संस्थामा छलफल गरेर निर्णय सार्वजनिक गर्छौँ । ’’
फोरजी टेण्डरमा १२ अर्ब बढी भ्रष्टाचार गर्न सकिने भएपछि सरकारले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदच्यूत गराई सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाका खाश निकट दशौँ तहका डिल्लीराम अधिकारीलाई प्रबन्ध निर्देशक बनाएको छ ।
खुला प्रतिस्पर्धाबाट छानिएकी पहिलो महिला प्रबन्ध निर्देशक राजभण्डारीलाई हटाएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाका खाश निकट डिल्लीराम अधिकारीलाई २०७५ पुस १९ गते तीन वर्षका लागि सरकारले नियुक्त गरेको छ ।
४४ वर्षमा टेलिकमको प्रबन्ध निर्देशक हुन सफल अधिकारी टेलिकमका कान्छा निर्देशक हुन् । दशौँ तहका अधिकारी टेलिकमा ५४ औँ –यांकमा थिए । कनिष्ठलाई माथि लगेर मुख्य बनाईएपछि उनीमाथिका ५० बढी कर्मचारीले उनको स्वागत, बैठकमा सहभागि मात्र भएनन् सिधै अटेर गर्दै आएका छन् ।
नेपाल आजसँगको कुराकानीमा एक उपल्लो तहका कर्मचारी भन्छन् –‘‘आफूभन्दा जुनियरलाई प्रमुख बनाइएको छ । प्रमुख भएपछि उनको व्यवहार पनि त्यस्तै छ । हाम्राे अनुभव के गर्ने ? हामीले अटेर गरेकै हौँ । ’’
आफूले हाकिम मानेकाले आफूलाई हाकिम मान्नुपर्ने भएपछि हिजोका दिनमा हाकिम मानेकाहरु अधिकारीसँग पुगेका छैनन् । न त उनले डाकेका बैठकमा खुलेर छलफल भएको छ, न त अधिकारीले खुलेर काम गर्न पाएका छन् ।
एक कर्मचारी भन्छन् –‘‘ न त हामी उनकोमा पुग्छौँ, उनी हाम्रो हाकिम भए आउने कुरा भएन । ’’ विभागीय मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई यसको रिपोर्टिङ भएपछि सञ्चारमन्त्री बाँस्कोटाले ३० वर्षे अनिवार्य अवकाशको प्रावधान ल्याएर अधिकारी माथिका सबै गरी झण्डै ४०० कर्मचारीलाई घर पठाउन लागेको बुझिएको छ । अध्यक्ष पनेरुका अनुसार आजै यसबारे कर्मचारी संगठनहरुले छलफल गरेर साझा धारणा तय गर्नेछन् ।
र, याे पनि पढ्नुहाेस्
-
७२ सालदेखि फोरजीको चर्चाः गोकुल बाँस्काेटा र टेलिकमका हाकिम शैली ‘लै बरि लै’
-
फोरजी भ्रष्टाचार काण्डको विपक्षमा बोल्ने कर्मचारीलाई नियम फेरेर हटाउने तयारी