News

प्यान विदेशीलाई पनि अनिवार्य

प्यान विदेशीलाई पनि अनिवार्य

काठमाडौं । नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बरका लागि विदेशीले निज कार्यरत रहेको कार्यालयको सिफारिस र विदेशी भनी प्रभाणित गराउने कागजात अनिवार्य बुझाउनुपर्छ ।

“नेपालभित्र बसेर आम्दानी गर्ने सबै व्यक्तिका लागि अनिवार्य हो,’ आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले भने, ‘त्यसका लागि दर्ता गर्ने क्रममै परिचय खुल्ने कागजातको व्यवस्था गरिएको छ ।’ विदेशीको हकमा राहदानी वा सम्बन्धित कूटनीतिक नियोगद्वारा जारी गरिएको प्रमाणपत्र दाखिला गर्नुपर्ने व्यवस्था छ ।

नेपालको अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा भारतीय कामदार कार्यरत छन् । तर, कति संख्यामा छन् भन्ने खुलेको छैन । उनीहरुलाई अन्य देशका नागरिकलाई जस्तो श्रम स्वीकृति चाहिँदैन । प्यान नम्बर लिन पनि उनीहरुलाई श्रम स्वीकृति आवश्यक पर्दैन ।

व्यवसाय, रोजगारी वा अन्य कुनै आर्जन गर्ने प्रत्येक व्यक्ति, फर्म र संस्थाले अनिवार्य रुपमा कर कार्यालयमा दर्ता भई प्यान लिनुपर्छ । व्यवसाय दर्ता गरिसकेपछि कर कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्दछ । स्थायी लेखा नम्बर लिएका व्यक्ति तथा संस्थाले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजस्व कार्यालयमा कर विवरण बुझाउनुपर्दछ ।

प्यान नम्बर

विशेष