छोरी जन्मिन्, श्रीमान् भागे, समाजले छुई भन्यो, बेसहारा भइन सुत्केरी
जुम्ला : कानुनी रुपमा छोरा छोरीबीचको विभेद बन्देज छ तर जुम्लामा यस्तो विभेद अहिलेसम्म पनि कम भएको छैन भन्ने कुराको उदाहरण बनेनको बुवाले छोरी जन्मेपछि श्रीमतीसँग गरेका व्यबहार ।
बुधवार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ बर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् । अस्पतालमा बच्चा जन्मेपछि खुशी छायो । तर, श्रीमान वीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमति र छोरीको स्याहार सुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लागे ।
श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान समेत कठिन भएको छ । अस्पतालले एक दिन दुई दिन बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन । वीरबहादुर बुधवार घर जाने भन्दै अस्पतालबाट बाहिरिए ।
काखमा १० दिनको बच्चा, बच्चासँगै कपडा र सामान वोकेर घरतिर जान खोज्दा शरीर काँपेर हिड्न नसक्ने अवस्था भएको पुतलीले बताइन्।
घर जान नसकेपछि जुम्ला सदरमुकामका धेरै घरमा बास मागेकी थिइन् तर सुत्केरी छुई भएको भन्दै कसैले बस्न नदिएपछि उनी सदरमुकामको एक घरको गल्लीमा सुत्ने योजना बनाएको पीडा उनले सुनाइन् ।
उनी गल्लीमा रोइरहेको समयमा माथिल्लो तलामा रहेको रेडियो नारी आवाजका कर्मचारीहरूले थाहा पाए । पत्रकार गीता शाही, स्टेशन म्यानेजर दिलमाया शाहीले पुतलीलाई रेडियोको प्राविधिक कोठामा लिएर आश्रय दिए । सुत्केरी अवस्थामा दिनभर खाजासमेत नपाएकी पुतलीलाई नारी आवाजले खाजा खुवाएको थियो ।
प्रतिष्ठानमा पुनः आश्रय
पुतलीको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेलाई जानकारी भएपछि तत्कालीन आश्रयका लागि मध्यरातमा पुनः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको छ । आपतकालीन रूपमा उनलाई प्रतिष्ठानको इमरजेन्सी विभागको कोठामा राखिएको कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले जानकारी दिए । उनका अनुसार आश्रय नै नभएपछि विशेष हेरचाह सहित निःशुल्क रुपमा राखिएको उनको भनाइ छ ।
उनी बच्चा जन्माउनका लागि भर्ना हुन साउन ७ गते आउनुभएको र साउन १३ गते छोरी जन्मेकी थिइन । खुट्टामा रड हालेका कारण सुत्केरी पुतलीले अस्पतालमा थप केही दिन बस्नु परेको थियो । श्रीमान् वीरबहादुरले भने छोरी जन्मेको तीन दिनमा घर गइसकेको अस्पतालले जनाएको छ । श्रीमान्लाई तत्काल बोलाएर समस्याको सामाधान गर्न पहल थालिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् । यो खबर आजको गोरखापत्रबाट लिइएको हो ।
सुत्केरी