News विदेश

अमेरिकासँग फेरि परमाणु वार्ता उत्तर कोरिया 'इच्छुक'

अमेरिकासँग फेरि परमाणु वार्ता उत्तर कोरिया 'इच्छुक'

अमेरिकासँग निरस्त्रीकरणको विषयमा फेरि वार्ता सुरु गर्न उत्तर कोरिया इच्छुक रहेको उत्तर कोरियाकी उपविदेशमन्त्रीले जनाएकी छन्। दुवै पक्षले सहमति जनाएको परिस्थितिमा बृहत् छलफलका लागि आफ्नो देश तयार रहेको चोइ सोन-हुईले बताएकी हुन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पुन: वार्ता गर्ने आशा देखाएका बेला चोईको यो विज्ञप्ति आएको हो। चोईले त्यस्तो अभिव्यक्ति दिएको केही घण्टामै उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको खबर आएको छ।

केही महिनायता उत्तर कोरियाले शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरिरहेको छ। गत वर्षको पहिलो भेटमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनले कोरियाली प्रायोद्वीपलाई पूर्णत: निरस्त्रीकरण गर्न सहमति जनाएका थिए।

तर त्यसको अर्थ के हो र कसरी गर्ने भन्ने चाहिँ तय भएको थिएन। त्यसपछि फेब्रुअरीमा हनोईमा भएको दोस्रो सम्मेलन बिनानिष्कर्ष टुङ्गिएको थियो।

उपविदेशमन्त्री चोईले सेप्टेम्बरको अन्त्यतिर सहमति गरिने ठाउँ र समयबारे पुन: प्रत्यक्ष वार्ताका लागि उत्तर कोरिया इच्छुक रहेको बताएकी हुन्। विज्ञप्तिमा उनले सम्झौतालाई सजीव बनाउने आशासहित वाशिङ्टनलाई ताजा दृष्टिकोण लिएर आउन आह्वान गरेकी छन्।

"दुवै पक्षको रुचि मिल्ने र दुवैलाई स्वीकार्य हुनेगरी अमेरिका विकल्पसहित आउँछ भन्ने म अपेक्षा गर्छु," उनलाई उद्धृत गर्दै रोएटर्सले लेखेको छ। प्रतिबन्ध हटाउने विषयमा कुरा नमिलेपछि ट्रम्प र किमको वार्ता असफल भएको थियो।

तर पछि ट्रम्प र किमले दुई कोरियाको सीमामा अवस्थित असैनिकीकृत क्षेत्र डीएमजेडमा भेटघाट गरेका थिए। सङ्क्षिप्त छलफलका क्रममा दुवै नेता काम गर्न सकिने स्तरमा पुन: वार्ता गर्न सहमत भएका थिए। तर अझैसम्म वार्ता हुन सकेको छैन।

"किमसँगको मेरो सम्बन्ध असाध्यै राम्रो छ," सोमवार ह्वाइट हाउसमा संवाददातासँग ट्रम्पले भने, "भेटघाट गर्नु राम्रो कुरा हो भनेर मैले सधैँ भनेको छु। अब हेरौँ के हुन्छ।"

दक्षिण कोरियाली सैन्य अधिकारीहरूले मङ्गलवार स्थानीय समयानुसार बिहान ७ बजे दुईवटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरिएको बताएका छन्। ती क्षेप्यास्त्र साउथ प्योङ्याङ प्रान्तस्थित केइचोनबाट उत्तरतर्फ प्रक्षेपण गरिएको थियो र त्यसले ३३० किलोमिटर यात्रा तय गरेका थिए। उक्त प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद्को एउटा बैठक बसेको थियो।

एक वरिष्ठ अमेरिकी अधिकारीले एएफपी समाचारसंस्थालाई आफूहरू क्षेप्यास्त्र प्रक्षेपणका समाचारबारे अवगत रहेको बताएका छन्।

"हामी अवस्थाको निरन्तर अनुगमन र उक्त क्षेत्रका हाम्रा साझेदारहरूसँग सम्पर्कमा रहेर परामर्श पनि गरिरहेका छौँ," उनीहरूले भने। आइतवार अमेरिकी सञ्चारमाध्यमसँग बोल्दै विदेशमन्त्री माइक पोम्पेओले हाल भइरहेका परीक्षणहरूप्रति अमेरिका असन्तुष्ट रहेको बताएका थिए।

"हामी त्यो बन्द होस् भन्ने चाहन्छौँ। तर हाम्रो विदेश मन्त्रालयले तय गरेको मिशन स्पष्ट छ - वार्ताको टेबलमा फर्किने," उनले भने।

विशेष