फर्किए वाङ, नेपाललाई हात लाग्यो शून्य 

फर्किए वाङ, नेपाललाई हात लाग्यो शून्य 

चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक  भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । वाङ मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन । 

वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरे । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचारविमर्श गरेका थिए ।

त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका थिए ।

वाङको नेपाल भ्रमणकाक्रममा भएका तीन बुँदे सम्झौतालाई लिएर सरकारको आलोचना सुरु भएको छ । चीन जस्तो शक्तिशाली राष्ट्रसंग ठूला परियोजना पन्छाएर ३५ करोडको अस्पताल र ५ हजार टेन्ट मागेको भन्दै आलोचना सुरु भएको हो । सरकारले भ्रमणअघि प्रचार गरेजस्तो ठूलो परियोजनाबारे सम्झौता हुन सकेन । 

यस्तै, राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पनि सुनिश्चित हुन सकेन । वाङले विगतमा जस्तै उपयुक्त समयमा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने भन्ने कुटनीतिक जवाफ मात्र दिए । यो जवाफले उनको भ्रमण सुनिश्चित हुन नसकेको पुष्टि भएको छ । 

संम्बधित खबर

विशेष