खेल News

प्रतियोगिताबाट बाहिरिएपछि  युएईमाथि नेपालको फराकिलो जित

प्रतियोगिताबाट बाहिरिएपछि  युएईमाथि नेपालको फराकिलो जित

यू १९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई १६० रनको फराकिलो अन्तरले हराएको छ । यसअघिका लगातार दुई खेल हारेसँगै समूह चरणबाट नेपाल बाहिरिएको थियो । युएईमाथिको जित नेपालका लागि सान्त्वना मात्र रहृयो ।

टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै २८६ रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो । यूएईले ३४.४ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो ।

युएईको पारी ध्वस्त पार्न बलिङतर्फ नेपालका सागर ढकालले तीन विकेट लिए । राशिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २/ २ विकेट लिए । मात्र ८ रन जोड्दा सुरुवाती दुई विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरे । रोहितकुमार ६७ रनमा आउट भए ।

आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की मात्र एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए । आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । 
 

विशेष