मेलम्चीको पानी एक व्यक्तिलाई १ सय २७ लिटर

मेलम्चीको पानी एक व्यक्तिलाई १ सय २७ लिटर

काठमाडौं : खानेपानी मन्त्रालयले राजधानीवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ । सरसफाइ, पिउनलगायतका दैनिक पानी प्रयोग लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार प्राविधिकलगायतको सम्पूर्ण डिजाइन त्यसै किसिमले तयार गरिएको छ । ‘पानीको मात्रा त्यसै किसिमले वितरण गरिन्छ, वितरण प्रणालीलाई त्यही किसिमले जडान गरिएको छ,’ आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘पाइप बिछ्याउने, पानी पोखरी (ठूला पानी ट्यांककी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं ।’

मेलम्ची, याङग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने उल्लेख गर्दै उनले ४० लाख जनताले सामानुपातिक हिसाबले पानीको उपयोग गर्न सक्ने बताए । थोक वितरण प्रणाली (मुख्य) को ७६ मध्ये ७५ किमि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको उनले बताए । त्यसमध्ये ४० किमि पाइपको टेस्टसमेत भइसकेको छ । साथै, १० वटा पानी पोखरीमध्ये ७ वटाको पानी हालेर परीक्षण भइरहेको छ ।

हाल सुन्दरीजलबाट बाग्मतीको पानी नयाँ पाइपबाट दैनिक ३ करोड लिटर दरले ल्याउने काम भइरहेको उनले बताए । ‘महाकाल पोखरीमा ल्याएर त्यहाँ पाइपमा पठाएर अन्य पोखरीमा पठाएर परीक्षण गरिराखेका छौं,’ उनले भने, ‘त्यसपछि बस्तीमा पठाएका पाइपको पनि परीक्षण गर्छौं ।’ अहिले मुख्य पाइपको मात्र परीक्षण भइरहेको उनले बताए ।

हालसम्म पाइपमा कतै ठूलो चुहावट नदेखिएको उनले बताए । पानी पोखरीमा खास समस्या नदेखिएको भन्दै उनले गत वर्ष परीक्षण गर्दा पाइपमा चुहावटभएको बताए । मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भएको छ । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै आयोजनाले ती पोखरीको परीक्षण भइरहेको छ ।

अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिने छ । खत्रीका अनुसार सुन्दरीजलस्थित प्रशोधन केन्द्र रहेको पानी मुख्य पाइपद्वारा पोखरीमा खन्याइने छ । आरुबारी (८ हजार ५ सय घनमिटर), बाँसबारी (९ हजार ५ सय), महांकाल (८ हजार), खुमलटार (९ हजार ५ सय), बालाजु (७ हजार), भक्तपुरको टिगनी (३ हजार), महाराजगन्ज (७ हजार ५ सय ), कीर्तिपुर (६ हजार) र धोबीघाटमा (८ हजार ५ सय) क्षमताको पोखरी निर्माण भइसकेको उनले बताए । कटुञ्जेमा ६ हजार घनमिटर क्षमताको पोखरी निर्माण कार्य अघि बढिरहेको उनले बताए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

मेलम्ची खानपानी

संम्बधित खबर

विशेष