News

थप्पड हानेको निहुँमा साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

थप्पड हानेको निहुँमा साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । थप्पड हानेको निहुँमा साथीको हत्या गर्ने व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ का ३८ वर्षीय भीमसेन भण्डारीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

७ साउन ०५८ मा उनले कोटेश्वर महादेवस्थानमा अशोक राईको हत्या गरेका थिए । हत्यापछि उनी काठमाडौं उपत्यकामै बस्दै आएका थिए ।

तर, उनी पक्राउ परेका थिएनन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनलाई पक्राउ गरेको छ । अभियुक्त पक्राउ नपर्दा सो मुद्दा १८ वर्षदेखि महानगरीय प्रहरी वृत्त बानेश्वरमा असफल अनुसन्धानको सूचीमा थियो । १८ वर्षपछि फेरि सो फाइल खुलेको छ ।

फरार रहेका भण्डारी पछिल्लो समय भक्तपुरमा सहचालकका रूपमा काम गर्दै आएको सिआइबीका प्रवक्ता एसपी दीपक रेग्मीले बताए ।

मादक पदार्थ सेवन गर्ने क्रममा विवाद भएपछि भण्डारीले राईको हत्या गरेका थिए । विवादकै क्रममा भण्डारीमाथि राईले गालामा थप्पड हनेपछि प्रतिशोधमा राईले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।

महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका वेला हत्या भएको थियो । पक्राउपछि बानेश्वर वृत्तले उनीमाथि अनुसन्धान अघि बढाएको छ। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
 

सिन्धुपाल्चोक पक्राउ थप्पड

विशेष