विदेशी ज्वाईँलाई अंगीकृत नागरिकता दिन नसकिने सरकारबाट स्पष्ट
काठमाडौँ । सरकारले विदेशी ज्वाइँलाई तत्काल अंगिकृत नागरिकता दिन नसकिने स्पष्ट पारेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले तत्काल विदेशी ज्वाइँलाई नेपालको अंगिकृत नागरिकता दिने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महिला सांसदहरुले छोरीले विवाह गरेर ल्याएका ज्वाइँलाई पनि विदेशी बुहारीलाई जसरी नै अंगिकृत नागरिक दिनुपर्ने तर्क गरिरहेका बेला गृह सचिव राईले त्यसका लागि हतारिएर तत्काल निर्णय गर्न नसकिने बताएका हुन् ।
बिहीबारको बैठकमा उनले नेपाली पुरुषले विदेशी नागरिकलाई विवाह गरेर ल्याएमा अंगिकृत नागरिकता दिन सकिने तर महिलाले विवाह गरेर विदेशी पुरुष ल्याएमा नागरिकता दिने व्यवस्था गर्न त्यसको असर बारे कम्तीमा पनि चार वर्ष अध्ययन गर्नुपर्ने सरकारको निष्कर्ष रहेको समितिलाई जानकारी गराए ।
बैठकमा समिति सदस्य यशोदा सुवेदी गुरुङले समानता, न्याय र विभेदरहित कानुन निर्माण गर्नुपर्ने भएकाले महिलाले विवाह गरेर ल्याएका विदेशी नागरिकलाई पनि अंगिकृत नागरिकता दिने गरी कानुन बनाउनुपर्ने बताएकी थिइन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले समानतामा आधारित भएर अंगिकृत नागरिकताको व्यवस्था गर्न आफ्नो पार्टीको सहमति हुने बताए । तर सांसद प्रेम सुवालले भने पुरुष वा महिलाले विवाह गरेर आएका विदेशी नागरिकलाई १५ वर्ष पूरा नभई अंगिकृत नागरिकता दिन नहुने धारणा राखे ।
उनले मुलुकको सार्वभौमिकतामाथि आँच आउने काम हुन नदिन पनि विवाह गरेका आएका विदेशी नागरिकलाई तत्काल अंगिकृत नागरिकता दिने काम गर्न नहुने बताए । सांसद सुवालले जथाभावी नागरिकता वितरण हुने गरी कानून निर्माण गर्न नहुने बताए ।