News

फिरौती असुलीमा गृहमन्त्री थापाका साइँला भाइ नरेश पक्राउ

फिरौती असुलीमा गृहमन्त्री थापाका साइँला भाइ नरेश पक्राउ

काठमाडौं : दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ । 

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौति संकलन तीव्र बनाएको सूचना पाएपछि सिआईबीले गत साउन अन्तिम साता उनका सहयोगी पवन खण्डका र सुरेन नगरकोटीलाई समातेको थियो । प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौति संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् । 

घटना सार्वजनिक हुँदा अप्ठ्यारो पर्ने भन्दै प्रहरीले यस मामिलालाई अति गोप्य राख्न चाहेको छ। स्रोतका अनुसार गृहमन्त्रीका भाइ नरेश र पवनबीच मिलेर काम गर्नुपर्छ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

रामबहादुर थापा

विशेष