छिमेकीसँग सचेत भएर व्यवहार गर्छौँ : बाँस्कोटा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको अन्य राष्ट्रसँगको सम्बन्ध र आपसी हितबारे सचेत भएर व्यवहार गर्ने जानकारी दिएका छन् । छिमेकी मुलुक वा अन्य मित्रराष्ट्रहरुसँग सजग भएर व्यवहार गर्ने मन्त्री बाँस्कोटाले बताए ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसँग व्यवहार गर्ने बताएका हुन् ।
चिनियाँ विदेशमन्त्रीसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इण्डोप्यासेफिकका बारेमा व्यक्त गरेको धारणा र त्यसबारे अमेरिकाले नेपाल सरकारको धारणा माग गरेको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पूर्ववत मान्यतामा कुनै पनि परिर्वतन वा विचलन नआएको स्पष्ट पारे ।
मन्त्री बाँस्कोटाले भने “इण्डोप्यासेफिकका बारेमा वा बिआईआरका सम्बन्धमा, स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रहरुसंग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौ र गर्दे आएका छौ । पूर्ववत मान्यतामा कुनै पनि विचलन आएको छैन र परिर्वतन आएको छैन ।”