जण्डिसको उपचार गर्छु भन्दै झाँक्रीले पेटमा प्वाल पारिदिए
धादिङवेशी : जण्डिसको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका- ३ का एक लामा झाँक्रीले बिरामीको पेटमा प्वाल पारिदिएका छन् । विगत २ महिना अघिदेखि जण्डिस रोगले थलिएका नीलकण्ठ नगरपालिका- ९ झगरेका राजु मगरको शरीरबाट विकार निकालिदिने भन्दै झाँक्री गजबहादुर लामाले पेटमा प्वाल पारिदिएका हुन् ।
झाँक्रीको उपचारले चाँडै जण्डिस रोग निको हुने विश्वासमा पर्दा राजु यतिबेला जीवनमरणको दोसाधमा पुगेका छन् । बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुलाई यतिबेला जिल्ला अस्पताल धादिङमा उपचारका लागि ल्याइएको छ ।
'अस्पतालमा उपचार गराएर घरमै औषधि खुवाइरहेका थियौँ, निको भएकै थिएन, 'राजुकी श्रीमती विमलाले भनिन्, 'त्यसपछि झाँक्रीलाई देखाउँदा शरीरमा विकार रहेको र आफूले विकार निकालेर फालिदिने बताएपछि झाँक्रीको विश्वास गर्दा यस्तो घटना हुन पुग्यो ।'
झाँक्रीले शरीरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । सुरुमा झाँक्रीले सुइ लगाएको जस्तो गरी केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफूलाई बताएको विमलाले बताइन् ।
झाँक्रीले पेटमा प्वाल खोपिदिएर अवस्था झनै बिग्रिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । तर काठमाडौं नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।