विदेश

आफ्नै केन्दीय बैंकमाथि खनिए ट्रम्प

आफ्नै केन्दीय बैंकमाथि खनिए ट्रम्प

वाशिङटन : अर्थतन्त्रलाई प्रोत्साहन गर्न अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्ब)को भूमिका युरोपेली अर्थतन्त्रका लागि युरोपेली केन्द्रीय बैंक (इसीबी) कोजस्तो सक्रिय नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको आलोचना गरेका छन् ।

फेडले इसीबीले जस्तो अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति नलिँदा अमेरिकी अर्थतन्त्रमा समस्या देखिएको उनले बताए । बिहीबार युरोपेली बैंकले अर्थतन्त्रलाई प्रोत्साहन गर्ने व्यापक कार्यक्रम सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् प्रेषित सन्देशमा भने “युरोको मूल्यलाई मजबुत डलरसँग प्रतिस्पर्धा गर्दै युरोको मूल्यलाई घट्न नदिन उनीहरूले (युरोपेली)  प्रयास गरेका छन् र सफलता पाएका पनि छन् । उनीहरूले अमेरिकी निर्यातलाई प्रभावित पारिदिएका छन् र यसबाट अमेरिकालाई घाटा भइरहेको छ ।”

“तर फेड चुप लागेर बसेको बसै गरिरहेको छ,” ट्रम्पले फेडविरूद्ध पछिल्लो आलोचना गर्दै गरे। अमेरिकी राष्ट्रपति ट्रम्पले फेड र यसका अध्यक्ष जेरोम पावेलविरूद्धको निरन्तर अभियानलाई जारी राख्दै आएका छन् । उनले पछिल्लो केही समयमा दैनिकजसो अमेरिकी राजनीतिबाट स्वतन्त्र मानिने केन्द्रीय बैंकको आलोचना गर्दै आएका छन् । बुधबार पनि अमेरिकी राष्ट्रपतिले फेडलाई ब्याजदर शून्य प्रतिशतमा झार्न आग्रहसहित ट्वीट गरेका थिए ।

फेडको नीति समितिको आगामी हप्ता बैठक हुँदैछ र यसले ब्याजदरलाई थप कटौती गर्ने व्यापक अपेक्षा गरिएको छ । चीनसँगको व्यापार विवादका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै अर्थतन्त्र सुधारका लागि बैंकको तर्फबाट सम्भावित कदम चाल्ने पावेलले सङ्केत गरेका छन् ।

लगानीकर्ताहरूले फेडले आधार अङ्कको २५ प्रतिशत दर कटौती हुनेमा निकै आशावादी छन् तर उनीहरूले ब्याजलाई शून्य प्रतिशतमा झार्ने निर्णय गम्भीर आर्थिक सङ्कटका समयमात्र हुने धारणा राखेका छन् ।

गत वर्ष चार पटकसम्म गरेको ब्याजदर कटौतीपछि अमेरिकी बैंकले ब्याजदरलाई २.२५ बाट २.० मा झारिएको थियो । यो कदम बैंकले १० वर्षपछि पहिलो पटक आंशिकरूपमा बीमाबाट सम्बोधन गर्नेगरी व्यापार अनिश्चितताका कारण अर्थतन्त्रमा परेको असरलाई समाधान गर्ने प्रयासस्वरूप गरेको निर्णय थियो ।

डोनाल्ड ट्रम्प फेडरल रिजर्ब

विशेष