विदेश

पाकिस्तानबाट बलोचिस्तान स्वतन्त्र गराउन माग गर्दै प्रदर्शन

पाकिस्तानबाट बलोचिस्तान स्वतन्त्र गराउन माग गर्दै प्रदर्शन

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा स्वतन्त्रताको माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालय अघि प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार काउन्सिलको ४२ औँ बैठकअघि बलोचिस्तानमा मानवअधिकार र स्वतन्त्रता कायम गर्न माग गर्दै पाेस्टर प्रदर्शन गरिएकाे हो ।

बलोच मानवअधिकार काउन्सिलको आयोजनामा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गरिएको जनाइएको छ । बलोच मानवअधिकार काउन्सिलले बलोचिस्तानमा हुने गरेको गैरन्यायिक हत्या, अपहरण तथा मानव अधिकार उल्लंघनका घटनाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको छ ।

काउन्सिलले पाकिस्तानको हस्तक्षेपबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणका लागि ठूलो टेन्टभित्र बलोचिस्तानमा भएको मानवअधिकार उल्लंघनबारे वृत्तचित्र पनि प्रदर्शन गर्ने भएको छ । साथै मानवअधिकार उल्लंघनबारेका छलफल पनि गरिने जनाइएको छ जहाँ युरोपियन पार्लियामेन्ट, अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले छलफल गर्नेछन् । 

बलोचिस्तानमा बस्दै आएका नागरिकहरुले स्वतन्त्रताको माग गर्दै १९४८ देखि नै प्रदर्शन गर्दै आइरहेका छन् । अमेरीका, जर्मनी, बेलायत लगायतका मुलुकमा पनि बलोचिस्तानका नागरिकको स्वतन्त्रताका लागि प्रदर्शन हुँदै आएको छ ।

बलोचिस्तानमा ठूलो जनघनत्व नभएपनि ग्यास र कोइलाको ठूलो भण्डार रहेको छ । बलोच राष्ट्रवादीहरूले इस्लामाबादले शोषण गरेको र प्रान्तलाई अधिकार नदिएको आरोप लगाउँदै आएका छन् । बलोचिस्तान प्राकृतिक स्रोत र खनिज पदार्थसम्पन्न भए पनि आर्थिक रुपमा भने विपन्न छ । 

विशेष