News

मेलम्ची खानेपानी आयोजनामा सिनो हाइड्रोलाई काम गर्न नदिने धम्की

मेलम्ची खानेपानी आयोजनामा सिनो हाइड्रोलाई काम गर्न नदिने धम्की

काठमाडौं । मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएका स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका छन् । समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा भदौ १८ गतेदेखि पीडितहरू धर्ना बस्ने भएका छन् । 

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले मेलम्ची आयोजना पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गतसाता समितिले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटमसहित ज्ञापन बुझाएको थियो । गत असारमा जिल्ला प्रशासन कार्यालयसहित जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङको संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको थियो । समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताए । 

आचार्यले भने “असारमा जिल्ला समन्वय समितिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयले कार्यदल बनाएरै अध्ययन प्रतिवेदन बुझाएको छ तर अहिलेसम्म कार्यान्वयन भएन, भुक्तानीका लागि सहजीकरण गर्ने भनियो तर गरिएन त्यसैले हामी पर्सी १८ गतेदेखि शान्तिपूर्ण घर्ना सुरु गर्दैछौँ ।” मेलम्ची खानेपानी विकास समितिले पनि प्रतिवेदन कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको थियो तर समितिको पहल पनि अहिलेसम्म प्रभावकारी नदेखिएको आचार्यको आरोप छ ।

आचार्यका अनुसार संघर्ष समितिले हाल छनोट भएको नयाँ कम्पनी सिनो हाइड्रोलाई पनि आफूहरूको रकम भुक्तानी नहुँदासम्म काम गर्न नदिने जानकारी दिइसकेको छ । मेलम्ची खानेपानी विकास समितिलाई पनि जानकारी दिइसकेको छ । मेलम्ची समस्या समाधानका लागि पहल गर्न गठित कार्यदलको प्रतिवेदनमा भनेको छ “पीडितको बाँकी रकम सरकारले विशेष नीतिगत निर्णयमार्फत भए पनि उपलब्ध गराओस् ।”

सरकारले सीएमसीबाट जफत गरेको रकमबाट स्थानीय मजदुर तथा भेण्डरहरूको रकम दिनुपर्ने कार्यदलको सिफारिस छ । कार्यदलले स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सको एक अर्ब ६७ करोड रुपियाँ सीएमसीले तिर्न बाँकी रहेको देखाएको छ । स्थानीय मजदुरको मात्र आठ करोड ७४ लाख रुपैयाँ बाँकी छ । यो खबर आजको गोरखापत्रबाट लिइएको हो। 

मेलम्ची खानपानी

विशेष