News

गोलघरभित्रै ‘डन’लाई सिमसहितको मोबाइल, गिरोहमा प्रहरीदेखि गृहमन्त्रीका भाइसम्म

गोलघरभित्रै ‘डन’लाई सिमसहितको मोबाइल, गिरोहमा प्रहरीदेखि गृहमन्त्रीका भाइसम्म

काठमाडौं । जेलबाट नै अपराध गर्नेदेखि अपराध गर्ने सम्भावना भएका कैदी–बन्दीलाई जेलभित्रको जेल मानिने गोलघरमा राखिन्छ । तर, प्रहरी नै अपराधीको सहयोगी भएपछि गोलघरभित्रबाट समेत अपराध गर्न गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई गाह्रो भएन ।

गोलघरको ड्युटीमा खटिएका प्रहरी जवान वीरबल भट्टराईले जेलमै गुन्डा नाइके बस्नेतलाई मोबाइल पुर्यादिए । र त्यही मोबाइलबाट उनले सहयोगीहरुसँग निर्धक्क कुरा गरी आपराधिक योजना बनाएको अनुसन्धानमा खुलेको छ । 

जेलका अर्का कैदी मनबहादुर पुनमार्फत बस्नेतले सिमसहितको मोबाइल पाएका थिए । सोही मोबाइल प्रयोग गरी स्काइपबाट गुन्डा नाइके बस्नेतले आफ्ना सहयोगीहरूलाई फोन गर्दै आपराधिक योजना बनाएका थिए । जुन घटनाको अनुसन्धान गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बस्नेत र प्रहरी जवान भट्टराईसहित नौ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । 

गिरोहमा प्रहरीदेखि गृहमन्त्रीका भाइसम्म
जेलबाटै व्यवसायीहरूलाई धम्काएर करोडौँ फिरौती उठाउँदै आएका गुन्डा नाइके बस्नेतको गिरोहमा प्रहरी र गृहमन्त्रीकै भाइसमेत सहभागी थिए । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सो प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशकुमार थापा र प्रहरी जवान भट्टराईसहितका सहयोगीलाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

थापा र भट्टराईसहित सिआइबीले पवन खड्का, सुरेन नगरकोटी, शैलेश प्रजापति, विनोद लामा, समिरमानसिंह बस्नेत र मनबहादुर पुनविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको हो । उनीहरू मिलेर निर्माण व्यवसायीलाई धम्क्याएर करोडौँ मागेको सिआइबीको दाबी छ । उनीहरूविरुद्ध आपराधिक लाभ तथा संगठित अपराध मुद्दा दायर गरिएको सिआइबीका निर्देशक डिआइजी निरज शाहीले बताए ।

पक्राउ परेकामध्ये पवन खड्का र सुरेन नगरकोटी गुन्डा नाइके बस्नेतका साथी हुन् । त्यस्तै, खड्काका साथी रहेका शैलेश प्रजापति र विनोद लामाले धम्कीमा प्रयोग भएको मोबाइल लुकाउन सहयोग गरेका थिए । प्रजापति सिटी सेन्टरस्थित ‘फुड स्टेसन’ का सञ्चालक र लामा व्यवस्थापक हुन् । मनबहादुर पुन भद्रगोलका कैदी हुन् । उनी मानव बेचबिखन मुद्दामा जेल परेका थिए । 

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका प्रमुख योजनाकार बस्नेत हाल सुन्धारास्थित जेलमा छन् । उनले दुबईमा रहेका जावेद अनवर दिनमार्फत निर्माण व्यवसायीलाई धम्क्याएर पैसा मागेको सिआइबीको अनुसन्धानमा खुलेको छ । जावेदविरुद्ध समेत फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको छ ।

बागलुङ घर भएका उनी वैदेशिक रोजगारीको क्रममा दुबई गएका हुन् । बस्नेतले नै निर्माण व्यवसायीको नाम र नम्बर दिएर धम्क्याउन लगाएका थिए । उनीसहित नौ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबारदेखि उनीहरूको बयान सुरु भएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

गिरोह गोलघर डन

विशेष