काठमाडौंमा अझै रोकिएन टिपर आतंक, प्रत्येक वर्ष दुर्घटना बढेको बढ्यै
काठमाडौं । भदौ ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन। पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे। तर उनको यात्रा बीचमै टुंगियो। सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी।
तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन्। अन्य दुईवटा मोटरसाइकलमा सवार चार जनासमेत गम्भीर घाइते भए।
टिपरको अन्धाधुन्ध गतिले निम्त्याएको सडक दुर्घटना योे पहिलो भने होइन। बितेका ८ वर्षको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष टिपर जोडिएका दुर्घटना बढेको बढ्यै छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार आव २०६९–०७० मा काठमाडौं उपत्यकामा मात्र ६९९ वटा दुर्घटनामा टिपर र टिपरजस्ता ठूला सवारी जोडिएको देखिन्छन् त्यस्तै ०७०–०७१ मा दुर्घटनाको यो संख्या बढेर ८९२ पुग्यो। ०७१–०७२ मा ९४७ मा वटा सडक दुर्घटनामा टिपर जोडिएको तथ्यांक ट्राफिक प्रहरीसँग छ। ०७२-०७३ मा १ हजार २१० वटा दुर्घटना टिपरका कारण भए। ०७३–०७४ मा यो संख्या बढेर १ हजार ४०० पुग्यो। त्यस्तै ०७४-०७५ मा १ हजार ५८० वटा दुर्घटना यही कारण भए।
०७५–०७६ मा यो संख्या बढेर १ हजार ७९१ पुग्यो। र, ०७६-०७७ को दुई महिनामा १६५ दुर्घटना टिपरले गराएको तथ्यांक ट्राफिक प्रहरीसँग रहेका छन् । सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन। ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो। गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै रिङरोडभित्र टिपरले प्रवेश पाउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
दुर्घटना टिपर आतंक