बाँके घटनाका दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले शनिबार सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।
“हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”, उनले भने । गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाइ थियो ।
कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले कांग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए । कांग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली कांग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए ।
यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उनको आरोप थियो । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आँत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाए ।