News

बीआरआई नेपालका लागि फलदायी : प्रचण्ड

बीआरआई नेपालका लागि फलदायी : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ । 
उहाँले नेपालको रेल कनेक्टिभिटी, सडक पूर्वाधार र सञ्चार विकासमा अझ लाभदायक हुने भएकाले लामो छलफल र गृहकार्य गरेरै नेपालले यसमा हस्ताक्षर गरेको स्पष्ट गर्नुभयो ।   

नेपाल बुद्धिजीवी संगठनले  गरेको अन्तरसंवादमा अध्यक्ष दाहालले यो कुनै सैन्य गठबन्धन नभएको बरु सामूहिक  विकास र सामाजिक सद्भावको लक्ष्य रहेकाले  राष्ट्रिय विकास र हितलाई केन्द्रमा राखेर आफूहरु सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो ।    
अध्यक्ष दाहालले भन्नुभयो– ‘बीआरआई समृद्धि र  विकासको परिकल्पनाका लागि हो । यसमा सबैको सामूहिक प्रयास आवश्यक छ । यो कुनै देश महाशक्ति बन्नका लागि होइन ।’     

चीनले सन् २०१३ मा शुरु गरेको  बीआरआई विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका १५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ ।    

उहाँले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा नेपाल प्रवेश गरेको सन्दर्भमा चीन र भारत दुई विशाल छिमेकीको बीचमा हुनुका नाताले नेपालले आफ्नो इतिहास, भूगोल र परम्पराअनुकूल लिँदै आएको असंलग्न र स्वतन्त्र विदेश नीतिका आधारमा दुवै देशको विकासबाट सहकार्यका आधारमा लाभ लिने सही वातावरण बनेको पनि उल्लेख गर्नुभयो ।    

 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले बीआरआईमा हस्ताक्षर गरिसकेको स्थितिमा नेपालले सोचेजस्तो प्रगति गर्न नसके पनि नयाँ संविधान, संघीयता र देशमा देखिएको स्थिरतासँगै दीर्घकालीन महत्वका काममा सबै दलको सहमतिका आधारमा सरकारले कामको अगुवाइ गर्ने बताउनुभयो ।     
कांग्रेस नेत्री सुजाता कोइरालाले विगतमा आफ्नो पार्टी सरकारमा हुँदा पनि बीआरआईमा सकारात्मक पहल भएको उल्लेख गर्दै राष्ट्रिय हित र विकासलाई ध्यान दिएर गरिने काममा प्रतिपक्षको साथ रहेको बताउनुभयो ।    

 नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बीआरआईबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लाभ हुनसक्ने भएकाले यसका लागि सरकारले ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो ।    
    
 

पुष्पकमल दाहाल बीआरआई

विशेष