लुक्लाबाट पर्यटक बोकेर आएका ७ हेलिकोप्टर काभ्रेका खेतमा आकस्मिक अवतरण
काठमाडौं : सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ।
सोलुखुम्बुमा अलपत्र परेका पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब भएपछि आकस्मिक अवतरण गराएका हुन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकोप्टर रहेका छन्।
पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र हर्षे भन्ने ठाउँमा एउटा हेलिकोप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको थियो। त्यसैगरी तीनवटा हेलिकप्टर नेपालथोकमा आकस्मिक अवतरण गरिएका छन्।
केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए। अलपत्र परेका पर्यटकको उद्धारका लागि हेलिकोप्टरहरू लुक्ला पुगेका थिए। प्रतिकूल मौसममा जोखिम नलिने भन्दै ७ वटा इनरुटमा रोकिएका हुन्। मौसममा सुधार आउनेबित्तिकै काठमाडौं उड्ने बताइएको छ।
अवतरण भएका सात वटै हेलिकप्टरका यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।