News

शान्ति सेनामा खट्ने नेपाली सेनाको भत्ता वृद्धि

शान्ति सेनामा खट्ने नेपाली सेनाको भत्ता वृद्धि

काठमाडौँ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको १ हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना १ हजार १ सय १४ अमेरिकी डलर कायम गर्ने निर्णय गरेको हो ।

बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको १ हजार ३ सय ७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी १ हजार ३ सय ९९ अमेरिकी डलर प्रतिमहिना कायम गर्ने निर्णय गरेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, वृद्धि गरिएको भत्तादर आगामी असोज १४ देखि लागू हुनेछ ।

अन्य मुलुकको प्रचलित अभ्यास एवं सैनिक ऐन, सैनिक कल्याणकारी नियमावलीको परिधिभित्र रही भत्ता पुनरावलोकन गर्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरी सकल दर्जाबाट प्राप्त राय सुझावका आधारमा सेनाले भत्ता वृद्धि गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली शान्ति सेनाले हालसम्म विश्वका ४३ वटा मिशनमा रही हालसम्म एक लाख २७ हजार ३९० जनाले शान्ति स्थापना कार्यमा योगदान पुर्‍याइसकेका छन् । हाल विश्वका ११ वटा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ मिशनमा १९५ महिलासहित ५ हजार ९५ नेपाली शान्ति सैनिक खटिरहेका छन् ।

ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौँ नम्बरमा छ ।

विशेष