उदयपुरमा बाढी आउँदा ३७ घरपरिवार विस्थापित
वर्षासँगै आएको बाढी र पहिरोका कारण उदयपुरमा ३७ घरपरिवार विस्थापित भएका छन्। बेलका नगरपालिका र आसपासका क्षेत्रमा रहेका ती ३७ घरपरिवार विस्थापित भएका हुन्।
भदौ ३० गते रातिदेखि भारी वर्षासँगै पहिरो जाँदा बेलका ६ स्थित घारे र तित्रीबोटका १० घरपरिवार विस्थापित भएका हुन् । त्यसैगरी- ३ को गिदेरी खोला गाउँमा पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेको मेयर दुर्गाकुमार थापाले जानकारी दिए । ती क्षेत्रमा अधिकांश राई र बोटे परिवार मात्र बस्छन्।
वर्षा नरोकिँदा ४ को सिसुवा खोलाले खोर्सानेझोर गाउँको सुरक्षाका लागि लगाएको बाँध भत्काउँदा ६ घर विस्थापित भएको थापाले जानकारी दिए ।
पहिरो र नदीको उच्च जोखिममा रहेका परिवार छिमेकीको शरणमा पुगेका छन् । उनीहरुको उद्धारका लागि बुधबार बिहानैदेखि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको मेयर थापाले बताए ।
स्थानीयका खेतीयोग्य जमिन वगरमा परिणत गर्नुका साथै सिचाईँ कुलो, बोरिङ्ग र खानेपानीमा क्षति पुगेको जनाइएको छ । शिसुवा खोलामा आएको बाढीले स्थानीयको २५ बिघा धानखेत पुरेको छ भने कटारी आसपासका क्षेत्रमा कटान गरेको वडाध्यक्ष दिपक दंगालले जानकारी दिए ।
त्यस्तै पहिरोले वडान ५ स्थित आधारभुत विद्यालय पोखरेमा क्षति पुर्याएको छ । लगातारको भेलबाढीले उदयपुरको बेलका र सुनसरीको वरहाक्षेत्र नगरपालिकाको सिमानाबाट बग्ने सप्तकोसी नदीले स्थानीयको जमिन कटान गरेको मेयर थापाले जानकारी दिए ।