गृहमन्त्री बादलका भाइ नरेश थापा धरौटीमा छुटे
काठमाडौं - पछिल्लो समय विभिन्न गैरकानूनी तथा आपराधिक लाभ र संगठित अपराधको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा’बादल’का भाइ नरेश थापा धरौटीमा छुटेका छन्।
काठमाडौं जिल्ला अदालतमा बुधबार भएकाे थुनछेकको आदेशले नरेशलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको एकल इजलासले उक्त आदेश गरेको हो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।
उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भारतबाट पक्राउ गरेर ल्याएको थियो। यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएकाले उनलाइ समातिएको प्रहरीको भनाइ छ ।
थुनछेक बहस सोमबारदेखि सुरु भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नरेशसहित ९ जनाविरुद्ध आपराधिक लाभ र संगठित अपराधमा मुद्धा दर्ता गरेको थियो। बाँकी ६ जना भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा नरेशसहितको समूहले बाहिर बसेर फिरौती र असुली गरेको आरोप लगाइएको थियो।
सीआईबीले गृहमन्त्री थापाविरुद्ध पनि मुद्धा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ पुगेपछि नरेश पक्राउ परेका थिए।