यौनिक अल्पसंख्यकका लागि सुनौला दिन आउँदैछन्–सांसदहरु
काठमाडौं । नेपालका यौनिक अल्पसंख्यकहरुले सम्मानपूर्वक बाँच्न पाउने दिन आइरहेको सांसदहरुले बताएका छन् ।
मंगलबार समलिंगी महिलाहरुको संगठन मितिनी नेपालले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुसँग आयोजना गरेको अन्तरक्रियाका अवसरमा सांसदहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा पूर्वमन्त्री एवं सांसद खगराज अधिकारीले नेपालमा नागरिक अधिकारको कुरा गर्दा दण्डीत हुनु पर्ने अवस्था स्मरण गर्दै भने, ‘जनताको अधिकारको कुरा गर्दा हामीले जेलनेल खेप्यौं । अहिले यौनिक अल्पसंख्यकहरुले आफ्नो अधिकार खोजिरहेका छन् । यस्तो संघर्षमा हाम्रो साथ छ । कम्तिमा अहिले खुला रुपमा अधिकार माग्न त पाइएको छ ।’
पूर्वउपसभामुख एवं सांसद चित्रलेखा यादबले पनि यौनिक अल्पसंख्यकहरुको अधिकारको लडाईंमा आफ्नो पूर्ण सहयोग हुने प्रतिबद्धता जनाइन् । उनले यो देशमा रहने सबै तहतप्का, वर्गले अधिकार पाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा सांसद हितबहादुर तामाङले समयअनुसार सबैकुरा परिवर्तन हुने र त्यो परिवर्तनको बाहक अहिले तपाईंहरु भइरहनु भएको छ भन्दै मितिनी नेपालका पदाधिकारीहरुको प्रशंसा गरेका थिए । अन्तरक्रियामा सांसदहरु जीवनराम श्रेष्ठ, रेखा कुमारी, सरिता न्यौपाने, गजेन्द्रबहादुर महतलगायत सहभागी थिए ।
कार्यक्रममा महिला समलिंगी, बायोसेक्सुअल, तेस्रोलिंगी, पत्रकारहरुको सहभागीता थियो । कार्यक्रममा सक्रिय सहभागीता जनाइदिएकोमा मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले सबैलाई धन्यवाद दिएकी थिइन् ।