नुनिला पहाडमुनी किन राखेको छ अमेरिकाले तेल ?
बीबीसी । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन् ।
तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए ।
राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारेल छ र त्यो टेक्सस र लुइजियाना राज्यको मुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा भण्डारण गरिएको छ ।
यी रणनीतिक भण्डारहरूमा इन्धन राख्ने अवधारणा सन् १९७० को दशकमा आएको हो ।
अन्तराष्ट्रिय उर्जा केन्द्रका सबै सदस्य राष्ट्रहरूले ९० दिनसम्म पुग्ने परिमाणको पेट्रोलियम पदार्थको आयातलाई भण्डारण गर्न सक्छन् तर अमेरिकी तेल भण्डार विश्वको सबैभन्दा ठूलो आपत्कालीन इन्धन भण्डार हो ।
अमेरिकी राजनीतिज्ञहरूले यस्तो तेलको भण्डार स्थापना गर्ने अवधारणा सन् १९७० को प्रारम्भमा ल्याए ।
मध्यपूर्वका देशहरूले तेल आपूर्ति बन्द गरेपछि विश्वभर मूल्य आकाशिएको परिवेशमा अमेरिकाले तेल भण्डार गर्ने योजना बनाएको थियो ।
पेट्रोल निर्यात गर्ने देशहरूको समूह अर्गनाइजेशन अफ अरब पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिजमा रहेका इराक, कुवेत, कतार र साउदी अरेबियाले सन् १९७३ मा भएको अरब इजरेली युद्धका क्रममा इजरेललाई समर्थन गरेको भन्दै अमेरिकामा तेल निर्यात गर्न अस्वीकार गरेका थिए ।
त्यसवर्ष अक्टोबर महिनामा भएको उक्त युद्ध ३ हप्ता मात्रै चलेको थियो । तर उक्त तेल आपूर्तिको नाकाबन्दी जसले अन्य देशलाई पनि निशाना बनाएको थियो १९७४ को मार्च महिना सम्म निरन्तर रह्यो । त्यसका कारण उसले प्रति ब्यारेल ३ डलर रहेको तेलको मूल्य चार गुणा बढेर १२ डलर प्रति ब्यारेल पुगेको थियो ।
नाकाबन्दीबाट प्रभावित देशमा पेट्रोल पम्पहरूमा कार लाम लागेका केही तस्वीरले त्यसबेलाको उक्त सङ्कटलाई राम्रोसँग चित्रण गरेका छन् ।
त्यसैको सेरोफेरोमा सन् १९७५ मा अमेरिकी संसदले उर्जा नीति र संरक्षण कानून अनुमोदन गर्यो । त्यसकै आधारमा आपूर्तिमा अर्को ठूलो सङ्कट आउनसक्ने अवस्थाका लागि तयार रहन रणनीतिक इन्धन जगेडा केन्द्र स्थापना गरियो ।
रिजर्भ भनेको के हो ?
अहिले अमेरिकाका ४ वटा शहरहरूमा त्यसरी तेल भण्डारण गरिएको छ । टेक्ससमा फ्रिपोर्ट र विन्नी अनि लुइजियानामा लेक चार्ल्स र बेटन रोगमा यस्ता रणनीतिक रिजर्भहरू छन् । ती प्रत्येक ठाउँमा मानव निर्मित नुनिला चट्टान सहितका गुफाहरू निर्माण गरिएका छन् र तेल भण्डार गरिएका ठाउँ जमिनको सतहभन्दा १ किलोमिटर मुनिसम्म छ ।
यो जमिनमाथि ट्याङ्की बनाएर तेल भण्डार गर्नुभन्दा सस्तो र सुरक्षित रहेको ठानिन्छ ।
नूनको मिश्रण र भौगर्भिक चापका कारण भूमिगत रूपमा भण्डारण गरिएका तेल चुहावट हुने सम्भावना रहँदैन । फ्रिपोर्ट नजिकैको सबैभन्दा ठूलो तेल भण्डारमा २५ करोड ४० लाख ब्यारेल तेल अटाउन सक्ने क्षमता छ । रिर्जभको वेबसाइटका अनुसार यी गुफाहरूमा १३ सेप्टेम्बरमा ६४ करोड ४८ लाख ब्यारेल तेल सञ्चित गरिएका थिए ।
अमेरिकाको इनर्जी इन्फरमेशन एडमिनिस्ट्रेशनका अनुसार अमेरिकीहरूले सन् २०१८ मा प्रतिदिन २ करोड ५ लाख ब्यारेल तेल खपत गरेका थिए । जसको अर्थ त्यहाँ ३१ दिनलाई पुग्ने तेलको परिणाम सुरक्षित रहेको छ ।
यसले कसरी काम गर्छ ?
जेराल्ड फोर्डले सन् १९७५ मा हस्ताक्षर गरेको कानुन अनुसार इन्धनको आपूर्तिमा गम्भीर समस्या देखिए राष्ट्रपतिले मात्रै यी रिजर्भहरूबाट तेलको प्रयोग गर्न आदेश दिन मिल्ने व्यवस्था छ ।
भौतिक कठिनाइको अर्थ प्रत्येक दिन यी गुफाबाट सानो परिमाणमा मात्रै तेल बाहिर ल्याउन मिल्छ । यसको अर्थ राष्ट्रपतिले आदेश दिए पनि त्यसलाई बजारसम्म आइपुग्न करिव दुई हप्ता लाग्छ । भण्डारण गरिएको कच्चा तेल हो । यसलाई थप प्रशोधन गरेपछि मात्रै कार, जहाज र विमानहरूमा प्रयोग गर्न मिल्छ ।
साउदी प्रशोधन केन्द्रमा भएका हमलापछि सोमवार अमेरिकी उर्जा मन्त्री रिक पेरीले प्रसारक संस्था सिएनबीसीलाई ती रिजर्भहरूको प्रयोग गर्ने विषयमा कुरा गर्न समय परिपक्व नभइसकेको बताएका थिए ।
यसको प्रयोग कतिको गरिएको छ ?
अन्तिम पटक अरब स्प्रिङ भनिने अरब देशहरूमा सन् २०११ मा भएको क्रान्तिका समयमा यो रिजर्भको प्रयोग गरिएको थियो ।
त्यसबेला इन्धन आपूर्तिमा समस्या कम होस् भन्नका लागि आइइएका सदस्य देशहरूले संयुक्त रूपमा छ करोड ब्यारेल तेलको प्रयोग गरेका थिए ।
तर विभिन्न समयमा अमेरिकाले ठूलो परिमाणमा ती तेलको प्रयोग गरेको छ ।
सन् १९९१ मा गल्फ युद्धका बेला राष्ट्रपति जर्ज एच डब्लु बुसले उक्त भण्डारको प्रयोग गर्न आदेश दिएका थिए ।
उनका छोरा जर्ज डब्लु बुसले क्याट्रिना नामक शक्तिशाली आँधीपछि १ करोड १० लाख ब्यारेल प्रयोग गर्न अनुमति दिएका थिए ।
अमेरिकामा नै इन्धनको उत्पादनको क्रम बढिरहेको सन्दर्भमा त्यत्रो विशाल भण्डारको उपयोगिताबारे पनि प्रश्नहरू उठ्ने गरेका छन् ।
वासिङ्टनमा कतिपयले त्यसलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने सुझाव पनि दिएका छन् ।
सरकारलाई जवाफदेही बनाउने निकायको एउटा प्रतिवेदनले सन् २०१४ मा त्यस्तो सुझाव दिदैँ त्यसबाट अमेरिकी उपभोक्ताका लागि तेलको मूल्य घट्नसक्ने सुझाव दिएको थियो ।
सन् २०१७ मा ट्रम्प प्रशासनले संघीय घाटा पूर्ति गर्न भण्डार गरिएका मध्ये आधा तेल विक्री गर्ने विचार राखेको थियो ।
सन् १९९७ मा राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा घाटा कटौती गर्ने उद्देश्यले २ करोड ८० लाख ब्यारेल तेल विक्री गरिएको थियो ।