विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल चलाउन प्रतिबन्ध
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाईल फोन नचलाउन निर्देशन दिएका छन् । विमानस्थलमा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा उनले कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिँदै त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिए ।
यसअघि आफूले कर्मचारी कार्यालयमा निदाउने, फेसबुक चलाएर बस्ने गरेको तस्वीर प्राप्त गरेको भन्दै कारबाहीको चेतावनी दिए । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने उनले जानकारी दिए ।
विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने उनको भनाइ थियो । सेवाग्राहीप्रति कर्मचारीहरुको व्यवहारमा सुधार ल्याउन विमानस्थल कार्यालयले प्रशिक्षण दिएको हो । प्रशिक्षण छ दिनसम्म चल्नेछ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रशिक्षणपछि कर्मचारीमा राम्रो सोचको विकास भए नभएको अनुगमन गर्न सम्बन्धित निकायलाई सुझाव दिए ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक करीब २० हजार यात्रु ओहरदोहर गर्ने विमानस्थलका कर्मचारीले यात्रुसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताए ।
विमानस्थल कार्यालयले विभिन्न ‘सिफ्ट’गरी करीब ९०० कर्मचारीलाई विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने जनाएको छ ।