प्रधानमन्त्रीको व्यस्तता : सदनको सम्बोधन र दलको बैठक दुवै स्थगित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएपछि संघीय संसदको सम्बोधन स्थगित भएको छ । सदनमा प्रधानमन्त्रीले दिउँसो २ बजे सम्बोधन गर्ने भनिएपनि प्रधानमन्त्री व्यस्त भएपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्ने भएकाले पनि सदनको सम्बोधन स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि शुक्रबार संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्ने उनले बताए ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री व्यस्त भएकैले विहीबारका लागि डाकिएको पार्टीको बैठक पनि शुक्रबारलाई सरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण सचिवालय बैठक स्थगित गरिएको हो । नेकपाको सचिवालय बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।