प्रधानमन्त्री ओलीलगायत २५ जना मन्त्रीको अद्यावधिक गरिएको सम्पत्ति गोप्य

प्रधानमन्त्री ओलीलगायत २५ जना मन्त्रीको अद्यावधिक गरिएको सम्पत्ति गोप्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५–७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् । आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ ।

प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक पदमा बहाल रहँदा वार्षिक रूपमा सम्पत्ति विवरण अधावधिक गरी सार्वजनिक गर्ने परम्परा रहे पनि आर्थिक वर्ष २०७५–७६ को सम्पत्ति विवरण बुझाउने समय सकिँदासम्म पनि उनीहरूले सम्पति विवरण सार्वजनिक नगरेका हुन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र तथा आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत तथा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित निकायमा पेस गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधानअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाएर सार्वजनिक गर्नुपर्ने परम्परा रहँदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूले गत वर्ष पनि निकै ढिलो गरेर मात्रै सम्पति विवरण सार्वजनिक गरेका थिए । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

सम्पत्ति केपी शर्मा ओली मन्त्री

संम्बधित खबर

विशेष