News

नेकपाले कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिँदै 

नेकपाले कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिँदै 

काठमाडौं । नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई‘ ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर्नेछन् । सोङ शनिबार नेपाल आउँदै छन् । त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरूको वैचारिक राजनीतिक कार्यपत्र प्रस्तुत हुने नेकपा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए । पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन पेस हुनेछन् ।

पौडेलले सम्मेलनको एउटा कुनै सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने तयारी भइरहेको जानकारी दिए । ‘राष्ट्रपतिज्यूको उपस्थितिबारे पनि हामीले छलफल गरेका छौं, उहाँ आउने नआउने टुंगो लागिसकेको छैन,’ उनले भने । सम्मेलनमा पार्टीका दुई अध्यक्षसहित केन्द्रीय तहका २ सय जनासम्म नेतालाई सहभागी गराउने तयारी स्कुल विभागको छ । सम्मेलनमा प्रस्तुत हुने विषयवस्तु र सहभागिताबारे छलफल गर्न बुधबार विभाग प्रमुख पोखरेल तथा उपप्रमुखहरू बेदुराम भुसाल र पौडेलबीच छलफल भएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएपछि बनेको स्कुल विभागको पहिलो कक्षामै चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक र सैद्धान्तिक कार्यदिशाबारे छलफल हुन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टी धेरै अनुशासित हुने भएकाले त्यसको कार्यशैली यहाँ पनि उपयोगी हुने ठानेर सी चिनफिङ पथबारे प्रशिक्षण हुन लागेको नेताहरूले बताए ।

दुई वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले नयाँ युगका लागि चिनियाँ समाजवाद भनेर सीको विचारधारालाई पारित गरेको थियो । राष्ट्रपति सीको सिद्धान्तले चीनमा मार्क्सवादको विकासक्रम, गरिबी निवारण र भ्रष्टाचार उन्मूलन, चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय पहुँच र तल्लो तहसम्म आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने कुराको व्याख्या गरेको छ । पार्टी विधानमै राजनीतिक विचारधारा र नाम उल्लेख गराउन सफल भएपछि सीलाई चीनका गणतन्त्रवादी नेताहरू माओत्सेतुङ र देङ सियाओ पिङको हाराहारीका नेताका रूपमा चित्रण गरिन्छ ।

नेकपाको यो सम्मेलनमा सी–पथबाहेक पार्टीको आधिकारिक राजनीतिक लाइन र दस्ताबेजका विषयमा पनि प्रशिक्षण हुनेछ । एकीकरण भएको करिब एक वर्षसम्म विवाद भएपछि नेकपाले बल्ल पार्टीको आधिकारिक राजनीतिक दस्ताबेज प्रकाशनमा ल्याएको छ । राजनीतिक कार्यदिशा के हुने भन्ने विषयमै शीर्ष तहबीच मतान्तर भएपछि एक वर्षसम्म राजनीतिक दस्ताबेजलाई अन्तिम रूप दिइएको थिएन । करिब दुई महिनाअघि राजनीतिक दस्ताबेजमा शीर्ष नेताहरूबीच सहमति भएर प्रकाशनमा आए पनि नेकपाको तल्लो निकायमा अहिलेसम्म छलफल भएको छैन । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

नेकपा कार्यकर्ता सी चिनफिङ स्कुल विभाग

विशेष