News

यो वर्ष पनि प्रहरीले जाडोमा कपडा नपाउने, टेन्डर प्रक्रिया विवादमा

यो वर्ष पनि प्रहरीले जाडोमा कपडा नपाउने, टेन्डर प्रक्रिया विवादमा

काठमाडौं । गत वर्ष प्रहरीले जाडोको कपडा गर्मी सुरु भएपछि पाए । जाडोभर हिमाली जिल्लामा आलोपालो ज्याकेट लगाएर ड्युटी गर्नुपर्ने अवस्था निम्तियो । समयमै कपडा खरिद नहुँदा गत वर्ष भोगेको समस्या प्रहरीमा यसपालि पनि निम्तिने भएको छ । प्रहरीले जाडो सकिएपछि मात्र ज्याकेटलगायत कपडा  पाउने भएका छन् । 

प्रहरी प्रधान कार्यालयले सर्ट, पाइन्ट, ज्याकेटलगायत सामान खरिदको टेन्डर अघि बढाइसकेको छ । तर, टेन्डर प्रक्रिया लामो हुने भएकाले सामान आउन कम्तीमा फागुनसम्म लाग्ने देखिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार टेन्डर प्रस्तावहरू हाल मूल्यांकनको चरणमा छन्, सकिन अझै दुई हप्ता लाग्नेछ । टेन्डर निर्णय भए पनि सम्बन्धित कम्पनीले सामान ल्याउन तीन महिनाको समय पाउँछ । त्यसमा पनि उसले माग गरे तीन सातासम्मकोे समय दिनुपर्ने हुन्छ । सामान आएपछि पनि गुणस्तर परीक्षणका लागि दुई साता लाग्छ । यो प्रक्रियाअनुसार फागुनमा मात्र प्रहरीले सामान पाउँछ । यी सामान जिल्ला–जिल्लामा पुग्दासम्म गर्मी सुरु भइसक्छ । 

सार्वजनिक खरिद नियमावलीकै प्रावधानका कारण यस्तो अवस्था आएको प्रहरी अधिकारीहरू बताउँछन् । सुरक्षा निकायका लागि यसमा विशेष व्यवस्था हुनुपर्ने प्रहरीको माग छ । कपडालगायत स्केलका सामान कहिल्यै पूरा नपाइने गरेको गुनासो प्रहरीमा सुनिँदै आएको छ । हरेक वर्ष पाउनुपर्ने कटनका सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामानसमेत प्रहरीले नियमअनुसार पाउन सकेका छैनन् । कतिपयले त स्केलका सामानसमेत आफैँले खरिद गर्नुपर्ने अवस्था छ । 

टेन्डर प्रक्रिया सुरुमै विवादमा
केही ठेकेदारसँगको मिलेमतोमा ठेक्का दिन लागिएको भन्दै टेन्डर प्रक्रिया सुरुमै विवादमा परेको छ । गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेपछि प्रहरीको करिब ५० करोडको ठेक्का सुरुमै विवादमा परेको हो । प्रहरीसँगको मिलेमतोमा लागत मूल्यभन्दा १–२ रुपैयाँ मात्र कम दररेट राखेर सेटिङ मिलाइएको उजुरीमा उल्लेख छ । गोप्य रहने लागत मूल्य पहिले नै ठेकेदारलाई उपलब्ध गराएर अनियमितता भएको आशंका गरिएको छ ।  

ठेक्कामा ६  वटा कम्पनीबीच ‘सेटिङ’ भएको भनेर आयोगमा उजुरी परेको स्रोत बताउँछ । जय सलिना इन्टरप्राइजेज, क्राउन टेक्सटाइल, प्लस पोइन्ट, अनिक ओभर्सिज, स्लोक इन्टरप्राइजेज, तेजसम इन्टरप्राइजेज कम्पनीलाई ठेक्का दिन लागिएको उजुरीमा उल्लेख छ । जय सालिना र प्लस पोइन्ट ज्ञानेन्द्र बस्नेतका कम्पनी हुन् । सोही कम्पनीले गत वर्ष पनि प्रहरीका ठूला ठेक्का पाएको थियो,  जुन गुणस्तरहीन भएको प्रहरीमा गुनासो छ । ‘जय सलिनाले डिएम बुट र चुस्ताको ठेक्का, रीतेश त्रिपाठीको श्लोक इन्टरप्राइजेजले कटन सर्ट, पीताम्बर मुन्काको क्राउनले कटन पाइन्ट, टोपेन्द्र बिसीको तेजसमले उलन सर्ट र उलन स्विटर पाउँदै छन्,’ उजुरीमा भनिएको छ, ‘यसरी मिलेमतोमा ठेक्का दिँदा प्रहरीको करिब १५ करोड रुपैयाँभन्दा धेरै बजेट खर्च हुन्छ ।’ यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

प्रहरी विवाद जाडो कपडा टेन्डर प्रक्रिया

विशेष