News विचित्र विश्व

विश्वमा ५ वटा छन भक्तपुरभन्दा साना देश (फोटोफिचर)

विश्वमा ५ वटा छन भक्तपुरभन्दा साना देश (फोटोफिचर)

हाल विश्वमा पूर्ण सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको संख्या १९२ वटा छ । ती मध्ये क्षेत्रफलका दृष्टिले नेपालभन्दा ठूला ९० र साना १०१ राष्ट्र छन् । देशका आकार हेर्दा विश्वभरि नै विविधता पाइन्छ । क्षेत्रफलका दृष्टिले सवैभन्दा ठूलो राष्ट्र रुस १ करोड ७० लाख ७५ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने सर्वाधिक सानो देश द स्टेट अफ भेटिकन सिटीको क्षेत्रफल एक वर्ग किलोमिटरभन्दा कम छ । जसको आयतन जम्मा ४४ हेक्टरमा फैलिएको छ ।

विश्वका ससाना देशको क्षेत्रफल हेर्दा नेपाल सवैभन्दा सानो ६ हजार ९ सय ८९ वर्ग किलोमिटर भएको अञ्चल महाकालीभन्दा साना देशको संख्या ३२ रहेको छ । भूगोलका दृष्टिले नेपालको सवैभन्दा साना ५ वटा देश रहेका छन् । त्यस्तै ६४२ किलोमिटर क्षेत्रफल भएका काठमाडौंभन्दा साना देशको संख्या १९ रहेको छ । १ हजार वर्गकिलोमिटर भन्दा कम क्षेत्रफल भएका देश विश्वमा २५ वटा छन् । ती मध्ये विश्वका सर्वाधिक कम क्षेत्रफल भएका सातवटा देशका बारेमा यहाँ चर्चा गरिन्छ । 


 

भेटिकन सिटी

इटालीको राजधानी रोम शहरको केन्द्रविन्दुमा रहेको भेटिकन सिटी विश्वको सर्वाधिक सानो र एकमात्र धार्मिक सत्ता रहेको राष्ट्र हो । रोमन क्याथोलिक धर्मको सवैभन्दा ठूलो सेन्ट पिटर्स गिर्जाघर र पोप बस्ने भेटिकन दरबारले चर्चेको भूभागलाई सन् १९२३ मा इटाली सरकारले आफ्नो नियन्त्रणबाट हटाई पोपकै प्रत्यक्ष नियन्त्रणमा रहने गरी स्वतन्त्र राष्ट्रको दर्जा प्रदान गरेको थियो । ०.४४ वर्ग किलोमिटर क्षेत्रफल रहेको भेटिकनको जनसंख्या भने करीब एक हजार जति छ । रोमन क्याथोलिक धर्म मान्ने विश्वका विभिन्न क्षेत्रबाट धार्मिक प्रतिनिधिको रुपमा आउने पादरी र कार्डिनलहरु भेटिकनका लागि नागरिक हुन्छन् । रोमन क्याथोलिक चर्चका वर्तमान पोप जोन पाल द्वितीय छन् । 

मोनाको

फ्रान्सको दक्षिणी भूमध्य सागरीय तटसंग जोडिएको सानो डाँडाको फेदीमा रहेको मोनाको विश्वको सबैभन्दा सानो राजतन्त्रात्मक देश हो ।  १ दशमलव ६ वर्गकिलोमिटर क्षेत्रफल र झण्डै ५० हजार जनसंख्या यो देशले धानेको छ । ८ सय वर्ष राज परम्परा रहेको छ । मोनाकोको राजधानी मोन्टेकार्लो हो । विश्वभरका क्यासिनो र कला पारखी यहाँ आउने गर्छन् । पुराना कलाकृतिका लागि यो चर्चित संग्रहालय मानिन्छ । फेन्च भाषा बोलिने यो देशको प्रमुख आयश्रोत भनेको पर्यटन हो । 

नाउरु

अष्ट्रेलियाभन्दा करिब २ हजार किलोमिटर उत्तर पूर्वमा भूमध्य रेखाको नजिक रहेको सानो टापूलाई  पहिले गोलबर्ट आइल्याण्ड भनिन्थ्यो । सन् १९६८ मा बेलायतको अधिनबाट स्वतन्त्र भएको नाउरु विश्वकै सानो गणराज्य हो । कार्यकारी अधिकार राष्ट्रपतिमा रहने नाउरुको संसदमा २१ वर्गकिलोमिटर क्षेत्रफल छ । यहाँको जनसंख्या १० हजार कम छ । यो देशमा पोलिनेसियन जातिका मानिस बस्छन् । नाउरन तथा अंग्रेजी भाषाले सरकारी मान्यता पाएको छ । नाउरुको राजधानी यारेन हो । 


तुवालु

अष्ट्रेलियाभन्दा चौबीस सय किलोमिटर पूर्वमा भूमध्य रेखाभन्दा दक्षिणतिर रहेका डेढ दर्जन टापूहरुको समूह तुवालु विश्वको सवैभन्दा सानो संसदीय व्यवस्था भएको राष्ट्र हो । सन् १९७९ मा बेलायतबाट स्वतन्त्र भएको तुवालुको जनसंख्या ९ हजार र क्षेत्रफल २६ किलोमिटर छ । १८ सदस्यी संसद रहेको तुवालुको राष्ट्राध्यक्ष बेलायतकी महारानीले नियुक्त गर्ने प्रावधान छ । सरकार प्रमुखको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्छन् । पोलिनेसियनका जातिका मानिसको प्रभुत्व रहेको यस देशको सरकारी भाषा अंग्रेजी हो । 

सानमेरिनो

चारैतिर इटालीले घेरेको अपेनियन पर्वत श्रृंखलाको काखमा रहेका सानो पहाडी मुलुक सान मेरिनोलाई संसारकै सवैभन्दा पुरानो गणराज्य मानिन्छ । एड्रियारिक सागर तटबाट १० किलोमिटर टाढा रहेको सानमेरिनोको राजधानीलार्य सानमेरिनो नै भनिन्छ । रोमन भाषा बोलिने यो देशमा एउटा अनौठो राजनीतिक परम्परा के छ भने यहाँ दुईवटा राष्ट्रपति चुनिन्छ । करिव ६२ वर्ग किलोमिटर क्षेत्रफल भएको यो देशमा २३ हजार मानिस बसोबास गर्छन् ।


लेचेस्टेटिन

पूर्वतिर अष्ट्रिया र पश्चिमतिर स्वीटजरल्याण्डसंग सिमाना जोडिएको लेचेस्टेटिन आल्पस पर्वत श्रेणीको काखमा रहेको छ । अल्पसका हिमाच्छादित पहाडहरु र चूर नदीको हराभरा फाँटले यसलाई पर्यटकीय दृष्टिले आकर्षक बनाएको छ । यसको क्षेत्रफल १५७ वर्गकिलोमिटर र जनसंख्या ४० हजार छ । यहाँ स्वीस भाषा बोलिन्छ भने राजधानी शहर भाडुस हो । यो राजतन्त्रात्मक मुलुक हो । 


 

मार्शल टापू

फिलिपिन्सभन्दा ३५ सय किलोमिटर पूर्व मध्य प्रशान्त महासागरमा रहेको एक दर्जन टापूहरुको समूह मार्शल आइल्याण्डले सन् १९८९ मा स्वतन्त्रता प्राप्त गरेको थियो । त्यसअघि यो संयुक्त राज्य अमेरिकाको संरक्षित राज्यको रुपमा ‘स्टेट टेरिटोरी अफ प्यासिफिक आइल्याण्ड’ अन्तर्गत रहेको थियो । माइक्रोनेसियन मूलका जातिले बसोबास गर्ने यो राष्ट्रको क्षेत्रफल १८१ वर्गकिलोमिटर र जनसंख्या आधा लाख छ । 


 

स्वतन्त्र राष्ट्र भेटिकन सिटी

विशेष