ओम अस्पतालमा फेरि अप्रेसनकाे क्रममा एक महिलाको मृत्यु
काठमाडौं – चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गराएकी फेरि एक महिलाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसारधादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको मृत्यु भएको हो ।
शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएपछि अस्पतालमा तनाव ग्रस्त बनेको छ।
शल्यक्रिया पछि स्वास्थ्य भएको विरामीको मृत्युु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालले भने बिरामीको मृत्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् । शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले आज बिहान पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए ।
पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही मुटु चल्न छाडेका कारण गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा उत्रिएका छन् । यस अस्पतालमा केही महिना अघि पनि पत्थरीको शल्यक्रियाको क्रममा सिन्धुपाल्चोकी एक महिलाको ज्यान गएको थियो।