News

पहिरोले ढाल्यो सात विद्युतिय पोल, तीन दिनदेखि दुई जिल्ला अन्धकार!

पहिरोले ढाल्यो सात विद्युतिय पोल, तीन दिनदेखि दुई जिल्ला अन्धकार!

खोटाङ - अबिरल वर्षाका कारण तीन दिनदेखि २ जिल्लामा विद्युत नहुँदा अन्धकारमा यहाँका जनता बास्न बाध्य भएका छन्। वर्षाका कारण गएको सुक्खा पहिरोले विद्युतिय पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको हो। कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेको  नेपाल विद्युत् प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेश महतोले बताए।

उनका अनुसार दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्युत् अवरुद्ध भएको हो।“पहिराले चार वटा पोल पूर्णरुपमा क्षति गर्नुका साथै तीन वटा पोल ढालेको छ”, उनले भने, “अवरुद्ध विद्युत् पुनः सञ्चालनमा ल्याउन शुक्रबार नै सामग्रीसहित प्राविधिक टोली घटनास्थल पठाइएको छ ।”

तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् । विद्युत् अवरुद्धका कारण दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चार माध्यम, व्यापार÷व्यवसाय तथा बैंक तथा वित्तीय करोवार प्रभावित भएको छ ।

दुई वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक फराकिलो पार्नेक्रममा विद्युत् पोलको जग खोलिएकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् । हप्ता दिनसम्म परेको भारी वर्षापछि गएको सुक्खा पहिराका कारण अवरुद्ध विद्युत् कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरणसमेत बेखबर छ ।

विशेष