बुद्धिजीवीहरु भन्छन– ‘इण्डोप्यासिफिक रणनीति नेपालका लागि घातक’
अमेरिकी सरकारको ‘इण्डोप्यासिफिक रणनीति’मा नेपाल साझेदार बन्न नहुनेमा वौद्धिक व्यक्तित्वहरुले एकमत जनाएका छन् । विश्व मामिला प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले चीनलाई एक्ल्याउने रणनीति नेपालका लागि घातक हुने बताए । विचार, नीति र स्रोतका माध्यमबाट चीनमा उपस्थिति जनाउन अमेरिकाले यस्तो रणनीति ल्याएको विश्लेषकहरुको दावी छ ।
कार्यक्रममा वरिष्ठ नेता सीपी गजुरेलले वर्तमान विश्व राजनीतिमा अमेरिकालाई टक्कर दिने क्षमता चीनले राखेको हुनाले उसले चीनलाई कमजोर बनाउन यस्तो रणनीति लिएको बताए । यसले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामा असर गर्ने भएकाले सचेत हुनुपर्ने उनको सल्लाह छ ।
पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले हान्नु, ठोक्नु र भाग्नु साम्राज्यवादी मुलुकको धर्म भएको उल्लेख गर्दै नेपालमा डलर र युरोका भीडन्त गराएर सांस्कृतिक अतिक्रम गरिएको टिप्पणी गरे ।
‘नेपालमा कसैको अडान छैन । इमान छैन । सिल्कको पञ्जा लगाएर यहाँ पसेका विश्व शक्तिलाई जे गर्न पनि छूट छ ।’ डा. बस्नेतको भनाइ छ– ‘इण्डोप्यासिक, बीआरआई भन्दा पनि यहाँका नेताहरुको दृष्टिकोणमा समस्या छ ।’
वरिष्ठ पत्रकार युवराज घिमिरेले अमेरिकी मन्त्री नेपाल आएर नेपाली भूमिबाट चीनलाई गाली गरेर फर्किने जुन काम हुने गरेका छन, त्यो चाहिँ नेपाल नै अल्मलिएको प्रमाण भएको टिप्पणी गर्नुभयो ।
प्रा.डा. नन्दबहादुर सिंहले एशिया महादेशमा पानी, तेल, ग्यासको प्रचुर खानी भएकाले त्यसतर्फ पश्चिमाहरुको आकर्षण बढेको बताए । अबको युद्ध संसारमा खानेपानीका लागि हुने तर्फ संकेत गर्दै उनले भने– ‘६ हजार खोलानालाका कारण कतै भोलि नेपाल युद्ध मैदान त हुने होइन ।’
त्रिभुवन विश्वविद्यालयका प्रा.डा. मृगेन्द्रबहादुर कार्कीले अरु देशको विरोध र शंका गर्नुभन्दा नेपालले आफ्नो स्थान र लिनुपर्ने अडानका विषयमा चासो राख्नु बताए ।
दर्शनशास्त्रका जानकार समिर सिंहले नेपालले इण्डोप्यासिफिकको समर्थन गर्नु भनेको असंलग्न परराष्ट्र विपरीत रहेको भन्दै अमेरिकाको चीन विरोधी सैन्य गतिविधिलाई प्रोत्साहित गरेर चीनलाई एक्ल्याउन नहुने बताए ।
इण्डोप्यासिफिक रणनीति