मध्यपहाडी लोकमार्ग स्तरोन्नतिको क्रममा सबओभरसियरको मृत्यु
पर्वत - मध्यपहाडी लोकमार्गको स्तरोन्नतिको क्रममा कुस्मा नगरपालिकामा एकजना सबओभरसियरको मृत्यु भएको छ ।
सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर २३ वर्षीय सबओभरसियर कमल राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । उनका अनुसार मृतक मोरङ निवासी हुन्।
कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोमा परी राईको ज्यान गएको हो। राई सडक स्तरोन्नतिको जिम्मा लिएको लामा कन्स्ट्रक्सन अन्तर्गत सब–इञ्जिनियरका रुपमा कार्यरत थिए ।
उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ । शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ । त्यहाँ कार्यरत मजदुरका अनुसार उनका भाइहरू पनि सोही ठाउँमा काम गरिरहेको भए पनि सुरक्षित छन् ।