बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता
काठमाडाैँ - बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ। सोमबार सडक विभागको वैदेशिक समन्वय महाशाखामा ४२ महिनाभित्रमा निर्माण सक्ने गरी सम्झौता भएको हो ।
जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको हाजमा अन्डो कर्पोरेशनबीच ठेक्का सम्झौता सम्पन्न भएको सडक विभागले जनाएको छ।
उक्त कम्पनीका प्रतिनिधि र महाशाखाका प्रमुख अर्जुनजंग थापाले संयुक्त रुपमा ठेक्कामा हस्ताक्षर गरेर सम्झौता गरेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।
सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ। ठेक्का सम्झौंतामा सो सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख गरिएको छ। जापान सरकारले ४० वर्ष भित्र तीर्ने गरी सो सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो। जापान सरकारको करिब १६ अर्ब मात्र ऋण भएको र मुअब्जा नेपाल सरकार आफैले तिर्नुपर्ने छ ।