News Breaking News

'विदेशीको इशारामा देशलाई धर्मनिरपेक्ष बनाइयो, हिन्दू राष्ट्रकाे लागि अब शसक्त आन्दोलन'

'विदेशीको इशारामा देशलाई धर्मनिरपेक्ष बनाइयो, हिन्दू राष्ट्रकाे लागि अब शसक्त आन्दोलन'

काठमाडाैँ - शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले हिन्दू राष्ट्रवादी नेपाली जनता बन्दुकबाट नडराउँने बताएका छन्।  उनले मुलुक यति बेला कम्युनिष्ट पार्टीको कुशासनमा फसेको आरोप लगाएका छन् ।

उनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘बोलीमा राष्ट्रवाद, व्यवहारमा लम्पसारवादी चरित्रको वर्तमान सरकार र संसदमा भएका सबै राजनीतिक दलहरुको अत्याचार र अशिष्टताले मुलुक आक्रान्त भएको छ।’

उनका अनुसार गणतन्त्रका नाममा नेताहरुले आफ्ना पत्नी, छोरीबुहारी र पुस्तौंपुस्ताका लागि भोगविलास गर्ने शासन व्यवस्था अहिले जनताले भोगिरहेका छन् । 

उनले भने,‘ केही समयअघिसम्म हामी देश विकासको कुरा गथ्र्यौं । आज देश नै रहला कि नरहला भन्ने चिन्तामा फसेका छौं । सम्पूर्ण नेपाली जनतालाई थाहा नै छ कि ९४ प्रतिशत ओमकार परिवारका मानिसहरुको बसोबास रहेको देशलाई विदेशीको इशारामा धर्मनिरपेक्ष बनाइयो । धर्मनिरपेक्ष मुलुक बनाउने, होली वाइन पिउने अनि इन्द्रजात्रामा राष्ट्रपति जाने, शिवरात्रिमा पशुपतिनाथमा चटक देखाउन पुग्ने धर्मसंगत छैन । धर्मलाई अफिम भन्ने, धार्मिक सम्प्रदायलाई गाली गर्ने अनि झुठो आस्था देखाउन धार्मिक समारोहमा जाने अधिकार वर्तमान सरकारलाई  छैन।’

उनले यो तथ्य नेपाली जनताले राम्रसँग बुझिसकेका बताए। राज्यको यो दोहोरो चरित्र र नेपालका हिन्दुहरुमाथिको भद्दा मजाकको विरोधमा शिबसेना नेपाल लगायत रास्ट्रबादी नागरिकको आगुवाइमा सरकारविरुद्ध हामीले प्रदर्शन गरेको बताए।

‘हामीहरुमाथि झुठा मुद्दा लगाउने र धर्मको आवाजलाई दबाउने प्रयत्न वर्तमान सरकारले गरेको छ।’उनले भने,‘हामी प्रहरी हिरासतमा पर्दा पनि देशको चिन्तामै थियौं । हिरासत मुक्त हुँदा पनि हामी देश जोगाउन राजसंस्थासहितको हिन्दुअधिराज्य स्थापनाको लागि पुर्ण सम्पूर्ण छऔं।’

३३ किलो सुन काण्ड, निर्मला पन्त बलात्कार र हत्याकाण्ड, बालुवाटार बिक्रीकाण्ड, खुल्ला मंच बिक्री काण्ड, वाइड बड़ी जहाज काण्ड, मीडिया काउंसिल विधेयक जस्ता कामले सरकारको नियत स्पष्ट पारेको छ भन्दै अध्यक्ष बस्नेतले भने, “दुई तिहाईको दम्भमा नेपाली जनताको भावना विपरीत कार्य गर्ने अधिकार कसैलाई छैन ।

हिन्दू धर्ममाथि क्रिश्चियनिटी लादने प्रयास, मन्दिर भत्काएर चर्च बनाउने कार्य, घरघरमा क्रिश्चियन एजेन्ट पठाई धर्म परिवर्तन गर्न लगाउने जस्ता कार्य राज्यकै संरक्षणमा भैरहेको समयमा सनातनी र राष्ट्रभक्त नेपालीहरु त्यसको प्रतिकारकामा उत्रिने तयारीमा रहेको अध्यक्ष बस्नेतले बताए ।

शिवसेना नेपाल यतिखेर के गर्दैछ ? भन्ने जिज्ञासामा अध्यक्ष बस्नेतले संकटमा परेको वर्तमान नेपाल र नेपालीलाई पुनः सुन्दर, शान्त र सम्मुनन्त नेपाल निर्माणको दिशामा अघि बढाउन सबभन्दा पहिला देशका आन्तरिक शत्रुलाई परास्त गर्नुपर्ने अवस्था आएकोले देशभरी नै शिव सैनिकहरु गृहकार्यमा लागेका छन । धर्म र राष्ट्रभूमि वर्तमान व्यवस्थामा सर्वाधिक संकटमा परेको हुँदा यसको रक्षार्थ हिन्दू अधिराज्य पुनर्स्थापना निर्विकल्प उपाय हो, शिव सैनिक एवम सम्पूर्ण नेपालीको चाहना बमोजिम नेपालमा हिन्दू अधिराज्य पुनर्स्थापनाको तयारीमा हामी छौं ।

विशेष