सामुदायिक विद्यालयका विद्यार्थीलाई किचन बनाउन जापानको सहयोग
काठमाडौँ । नेपालस्थित जापानी दुतावासले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई खाजा बनाउने किचन निर्माणका लागि करिब एक करोड सहयोग गरेको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई खाजा पकाउनेस्थल निर्माणका लागि उक्त रकम सहयोग गरिएको हो ।
सहयोग सम्बन्धी सम्झौतामा मंगलबार नेपालका लागि जापानी राजदूत माचामिसी साइगो र फुड फर नेपालका निर्देशक वृजेश लाकौलले सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो । त्यसक्रममा राजदूत साइगोले सरकारको दिवा खाजा कार्यक्रम प्रोत्साहन गर्न सामुदायिक विद्यालयमा उपर्युक्त किचन निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
फूड फर नेपाल परियोजना सन् २०१५ मा सुरु गरिएको थियो । यस परियोजनाले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रोत्साहन गर्ने भएकाले सामुदायिक विद्यालयको गुणस्तर सुदृढमा पनि सहयोग पुग्ने जापानी दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।