प्रहरीलाई अपहरण गर्न खोज्ने तस्करमाथि दुई राउण्ड गोली प्रहार
मकवानपुर — गाँजा तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर घाइते हुनेमा ट्रक चालक अफ्रिका चौधरी रहेका छन्।
सोमबार मध्यरातमा ना६ख १३१ नम्बरको ट्रकमा हेटौंडा हुँदै वीरगञ्जतर्फ गाँजा लैजादै गर्दा प्रहरीले जाँच गर्ने क्रममा चौधरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। हेटौंडा–१५, रातोमोटेमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त ट्रकको जाँच गर्दा १४ पोका अर्थात ७८ केजी आठसय ग्राम गाँजा बरामद भएको छ।
पर्सा जिल्ला वीरगञ्ज २९ का ३५ वर्षीया चौधरीले प्रहरी जवानसहित ट्रक चलाएर अपहरण शैलीमा भाग्न खोजेपछि प्रहरीले उनलाई पछ्याएको थियो।प्रहरीले पछ्याउने क्रममा जाँच गर्ने स्थानभन्दा केही तलपुगेर प्रहरी जवानलाई लछारपछार गर्दै वनतर्फ लैजाने थालेपछि प्रहरीले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालकको साथमा रहेका अर्का एक व्यक्ति भने फरार छन्।
‘प्रहरीले दुई राउण्ड मात्र गोली चलाएको थियो, 'जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने। उनका अनुसार उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी जवान समेत घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले गाँजा र चालकलाई नियन्त्रणमा लिएका हुन्। लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम गाँजा ओसारपसारमा संलग्नलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखी एक लाख रुपैंयासम्म जरिवाना तथा सवारी साधन-ट्रक जफत हुने कानूनी प्रावधान रहेको छ।