डेंगुका कारण मृत्यु हुनेको संख्या ७५ पुग्यो
ढाका – बंगलादेशमा लामखुट्टेको टोकाइले लाग्ने डेंगु राेगका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको बंगलादेशी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयले बंगलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेंगुको संक्रमण देखिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार डेंगुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा चार जनाको मृत्यु भएको छ ।
अझै १४ हजार एक सय ९१ डेगुका बिरामीले बंगलादेशका विभिन्न अस्पतालमा उपचार गराइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
बंगलादेशमा अगस्ट र सेप्टेम्बरमा गरी जम्मा ५२ हजार ६ सय ३६ जनालाई डेंगुको संक्रमण देखिएको बताइएको छ । अद्यापि डेगुका विरामीको संख्या क्रमशः घट्ने क्रममा रहेको पनि निर्देशनालयले जनाएको छ ।
विगत २४ घण्टामा राजधानी ढाकामा १४३ सहित देशभर ४६१ ज्ना डेंगुको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका पनि सरकारी तथ्याङ्कमा उल्लेख छ ।
बंगलादेशमा गत बर्ष १० हजार १४८ जनामा डेंगुको संक्रमण भएको र २६ जनाको मृत्यु भएको थियो । गत बर्षको तुलनामा यसबर्षको संक्रमण र मृत्यु हुनेको संख्या निकै बढेको देखिन्छ ।