News

अपडेटः नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु, २० जना घाइते

अपडेटः नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु, २० जना घाइते

नवलपरासीमा तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेको संख्या बढ्ने प्रहरीले जनाएको छ । जिल्लाको कावासोती, अरुणखोला र चोरमारा तीन स्थानमा सवारी दुर्घटना भएका हुन् । 


पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, पूर्व पश्चिम राजमार्गमा गए राति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ । राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नंको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नंको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको भएको हो । प्रहरीका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन ।  


दुर्घटनामा परी गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । कारमा सवार देवचुली नगरपालिकाका व्यक्ति हुन सक्ने प्रहरीले जनाएको छ । केही कागजात देवचुलीको फेला परेकाले मृतकहरू नवलपरासी देवचुलीकै हुनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए ।


यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१०, स्थित जंगलमा राति १ ः ४५ को समयमा दाङ्गबाट काठमाडौंका लागि छुटेको बस आफै अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा बसका मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमील्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 


यस्तै आज बिहान ४ : ४० बजे मध्यविन्दु नगरपालिका–७, स्थित पूर्व पश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रित भई पल्टिँदा ५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडांैका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिएको हो । घाइते सबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । बसमा करिब २५ जना यात्रु सवार रहेका थिए । कतिपय घाइते आफै उपचारकालागि गएको हुन सक्नाले घाइतेको संख्या बढन सक्ने प्रहरीले बताएको छ ।

विशेष