Breaking News राजनीति News

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सम्झौता, के-के छ सम्झौता पत्रमा?

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सम्झौता, के-के छ सम्झौता पत्रमा?

काठमाडाैँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान समझदारी सम्झौता भएको छ। समझदारीपत्रमा नेकपाका तर्फबाट विदेश विभाग प्रमुख माधव नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा दुवै जनाले  मंगलबार दुई पार्टी बीच सहयोग आदानप्रदान गर्ने सम्झैता पत्रमा हस्ताक्षर गरेका हुन्।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एक समारोहका बीच दुई पार्टीबीच गरिएको ६ बूँदे समझदारी पत्रमा दुई पार्टी बीचको राजनीतिक तथा आर्थिक मोडलको आदानप्रदानका लागि उच्चस्तरीय भ्रमण गर्ने, नेपालमा भइरहेको कम्युनिष्ट पार्टीको राजनीतिक तथा सैद्धान्तिक बहसलाई दुवै पार्टीले तीव्रता दिनेलगायतका विषयलाई मुख्य जोड दिइएको छ।

दुई पार्टीबीच पहिलो पटक आपसी हितका विषयमा छलफल गर्न औंपचारिक तहमै समझदारी गरिएको नेपालमा पहिलो पटक हो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच चिनियाँ कम्युनिष्ट पार्टीसँग छुट्टाछुट्टै सम्बन्ध भएपनि दुई पार्टीबीच एकीकरण भई बनेको नेकपासँग भने पहिलो पटक सम्झदारी गरिएको हो।

सोमबारबाट काठमाडौंमा दुई पार्टीबीचको विचारधारात्मक छलफल भइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको सी विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको जनताको जनवाद’सम्बन्धी विचारधाराबारे मंगलबार पनि छलफल भइरहेको छ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपालको राजकीय भ्रमण अघि भएको दुई पार्टीबीचको विचारधारात्मक छलफललाई अन्तराष्ट्रिय समूदायले समेत रुचिपूर्वक हेरिरहेका छन।

विशेष