कृषि विकास बैंकबाट रकम चोर्ने सार्वजनिक,५ अर्ब ह्याक गर्ने योजनाको यसरी भयो पर्दाफास!
काठमाडाैँ - नेपालको बैंकबाट पाँच अर्ब रुपैयाँ लुट्ने योजनासहित परिचालित भएका १२ जना एजेन्ट रातरात प्रहरीको फन्दामा परेका छन्।
पक्राउ पर्नेमा १२ जनामा नुवाकोटकोमेघाङ गाउँपालिका–४ का ४३ वर्षीय लवाङ तामाङ, रसुवाको नौकुण्ड गाउँपालिका–५ की ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका–२ काभ्रेस्थीका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपाकिला–५ का २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाहीको हरिवन नगरपालिका–२ का ४२ वर्षीय पुष्पराज खड्का छन्।
त्यसैगरी लमजुङको दोर्दी गाउँपालिका–३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँको भानु नगरपालिका–९ का ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुरको ठिमी नगरपालिका–४ का ३२ वर्षीया सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई काठमाडौं टेबहाल बस्ने ३० वर्षीइ शुबन्कर पञ्जा, कैलालीको भजनी नगरपालिका–३ का २२ वर्षीय विजय साह र भजनी–१ का ४५ वर्षीय चन्द्रबहादुर बुढा छन्।
काले भनिने विदेशी नागरिक पिटरको योजनामा रकम लुट्ने योजना बनाइएको अनुसन्धानमा खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो। कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर रकम झिकिएपछि अनुसन्धानमा परिचालन भएको महाशाखाको टोलीले उनीहरुलाई पक्रेको हो।
प्रहरीले विदेशी ह्याकरले नेपाली बैंकरबाट करिब ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार योभन्दा धेरै रकम ह्याक गर्ने र लुट्ने योजना बनाएको देखिएको हो।ुभारतमा बसेर बैंकबाट पैसा लुट्ने योजना बनाएको देखिन्छ,'महाशाखाका एसपी सहकुल थापाले भने, 'उनीहरुले ५ अर्ब रुपैयाँ लुट्ने लक्ष्य लिएका रहेछन्।'
लुट मच्चाउन सक्रिय उनीहरुले कृषि विकास बैंकका कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ६३ लाख रुपैयाँ ट्रान्सफर गरेका थिए। ट्रान्सफर गरेको रकममध्ये ६० लाख रुपैयाँको नोट उनीहरुले निकालिसकेका थिए। धनगढीबाटमात्रै १९ लाख रुपैयाँ निकालिएको थियो।
लुटका लागि उनीहरुले कृषि विकास बैंकको लहान शाखाबाट कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। एजेन्टका रुपमा प्रयोग भएका व्यक्तिहरु पक्राउ परेको भए पनि लुटको सुत्रधार को भन्ने खुल्न सकेको छैन। वीच्याट मार्फत् एजेन्ट र उनीहरुलाई लुटमा सक्रिय गराउनेबीच सम्बन्ध भएको देखिएको एसपी थापाले जानकारीदिए।
कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर उनीहरुले एक पटकमा ९९ लाख रुपैयाँसम्म ट्रान्सफर गरेको देखिएको छ। 'कर्मचारीको आइडी उनीहरुको मिलेमतोमा दिइएको हो या ह्याक भएको भन्ने खुलिसकेको छैन,' थापाले भने, 'यसमा अनुसन्धान जारी छ।'
पहिलो पटक असोज ५ गते आइतबार पानस रेमिटेन्सबाट एकै व्यक्तिले ६० लाख रुपैयाँ झिकेका थिए। उनलाई प्रहरीले पछ्याउँदा ३० लाख नगदसहित पक्रन सफल भएको थियो। समातिएका मार्फत् नै प्रहरीले १२ जनालाई नियन्त्रणमा लिन सकेको हो।
रकम लुट्ने व्यक्तिहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत भारत पठाउने गरेको प्रहरीले जनाएको छ।