चितुवाको छाला तस्करी गर्ने गिरहो पक्राउ
चितवन - प्रहरीले नारायणगढमा तीन थान चितुवाको छाला तस्कारी गर्ने गिरहोलाई पक्राउ गरेको छ। गिरहोमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–७ इट्टाभट्टी बस्ने दिपक भन्ने चिरञ्जीबी सेन ठकुरी, पाल्पा निस्डी गाउँपालिका–२ सलहकोट बस्ने चुमबहादुर राना र बाग्लुङ ढोरपाटन–९ बस्ने हिम साङ्बो गौचन रहेका छन् । उनीहरु मंगलबार साँझ सवा सात बजे नारायणगढ पुलचोकबाट गिरफ्तार भएका हुन् ।
चितवन प्रहरीका अनुसार बाग्लुङ ढोरपाटन क्षेत्रबाट बाघको छाला बिक्रीका लागि ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । चितवन प्रहरीले ग्राहक बनेर उनीहरुलाई नियन्त्रणमा लिन सकेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तीनैजनालाई प्रहरीले कारबाहीका लागि चितवनको डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ ।