प्रचण्डले भने – दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक
रुपन्देही । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्दै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताए ।
उनले विदेशी लगानीकर्तालाई लगानीको लागि विश्वासको वातावरण बनाउन ऐनकानूनमा सुधार गर्दै स्वदेशी लगानीकर्ता आकर्षित गर्ने खालका योजना बनाउन स्थानीय तहलाई आग्रह गरे । नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको उनको भनाइ थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको जिकिर गरे । उनले राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको र बजेटसम्बन्धी सैद्धान्तिक पक्षमा छलफल गरेर खरीद ऐनलाई सरलीकरण गर्नेतर्फ ध्यान दिइएको बताए ।
उनले प्रदेश नं– ५ मा पर्यटन विकासको ठूलो आधार रहेकाले पर्यटन पूर्वाधारको काममा ध्यान दिन सुझाव दिँदै भने–“गौतमबुद्धको जन्मभूमि भएका कारण यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ ।”
अध्यक्ष दाहालले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेकाले हाम्रो सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गरे । उनले हिजो जेलनेल भोगेका व्यक्ति आज सत्तामा पुग्दा जनताका अप्ठ्यारा विर्सने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए । “२५० वर्ष लामो तानशाही र निरङ्कुशताले जर्जर बनाएको समाजलाई डेढवर्षमै चमत्कार हुनुपर्छ भनेर सोच्ने मानसिकतालाई म केही भन्दिन, तर यतिका वर्षको फोहर सफा गर्न समय लाग्छ ।” उनले भने ।
अध्यक्ष दाहालले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयता ल्याउनेमाथि प्रहार हुने भएकाले यसप्रति सचेत हुन आग्रह गरे । “जनताप्रति जिम्मेवार र जवाफदेही भएर स्थानीय तह ठिक भन्ने सन्देश देशभर जानुपर्छ, अनिमात्रै मुलुकमा गणतन्त्र ल्याउन ज्यान गुमाउने शहिदहरुको सपना साकार हुन्छ ।” उनले भने ।
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले एक दिने तिलोत्तमा लगानी सम्मेलन आयोजना गरिएको हो । शिक्षा, स्वास्थ्य, पर्यटन, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धनजस्ता आम नागरिकका अपेक्षालाई नगरपालिकाले सम्मेलन मार्फत लगानी भित्र्याउन लागेको नगरपालिकाले जनाएको छ ।
सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात क्षेत्रमा लगानी भित्राउने गरी आधा दर्जन बढी परियोजनामा सम्झौतामासमेत गरिंदैछ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी उद्योगी व्यवसायी गरी पाँच सय जनाको सहभागिता रहेको छ ।