कांग्रेसले आगामी महाधिवेशनदेखि हिन्दुराष्ट्रको पहल थाल्ने
रामेछाप । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी महाधिवेशनदेखि हिन्दु राष्ट्र स्थापनाबारे औपचारिक निर्णय लिने भएको छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको प्रस्ताव आउने जानकारी दिएका हुन् ।
बिहीबार रामेछापमा पत्रकारहरुसित कुरा गर्दै कोइरालाले महासमिति बैठकमै ८०० जना प्रतिनिधिले हिन्दुराष्ट्रको माग गर्दै हस्ताक्षर बुझाइसकेको जानकारी दिए । यस विषय अब महाधिवेशनमा प्रवेश गर्ने उनको भनाइ थियो । हिन्दुराष्ट्रको मुद्दा बलियोरुपमा अगाडि आएको भन्दै उनले कांग्रेस महाधिवेशनमा प्रस्ताव बलियोरुपमै आउने बताए ।
पार्टीमा घात–अन्तर्घातका कारण कांग्रेस कमजोर भएको भन्दै उनले अन्तर्घात नहुने हो भने कांग्रेसलाई कसैले पनि हराउन नसक्ने जिकिर गरे । कुराले मात्रै देशमा समृद्धि र सुख आउँदैन भन्दै महामन्त्री कोइरालाले वर्तमान सरकारले कोरा सपनामात्रै बाँडेको आरोप पनि लगाए ।