News

बिहानबिहानै जनकपुरमा लुटेराको समूहमाथि प्रहरीले चलायो गोली

एक घाइते, चार पक्राउ

बिहानबिहानै जनकपुरमा लुटेराको समूहमाथि प्रहरीले चलायो गोली

जनकपुरधाम । जनकपुरधाममा प्रहरीले लुटपाटको समूहलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चारजनाको लुटेरा समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दुईजना भारतीय र दुईजना रौतहटका छन्। पक्राउ पर्ने भारतीय नागरिक विहारको सीतामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी रहेका छन्।

त्यसैगरी नेपाली नागरिकमा रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह रहेका छन् । प्रहरीले उनीहरूको साथबाट हतहतियारसमेत बरामद गरेको छ ।

बिहीबार बिहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्रहरीले देखेपछि भाग्न खोजेका थिए। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार भाग्न लागेसँगै उनीहरूलाई ३ राउण्ड गोली चलाएर नियन्त्रणमा लिइएको हो।

प्रहरीले चलाएको गोलीबाट एकजना लुटेरा घाइते भएका छन् उनको खुट्टामा गोली लागेको छ। उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

चाडपर्व मौसम सुरु भएसँगै देशमा विभिन्न जिल्लामा लुटपाट तथा चोरीका घटना बढ्न थालेका छन्। तीनको अवधिमा गुल्मीमा ४४ घरमा चोरी भएको घटना बुधबार सार्वजनिक भएको थियो। यद्यपि अपराधिक घटना न्यूनीकरणका कामहरू भइएरहेको प्रहरीले जनाउँदै आएको छ।

विशेष