ज्ञानेन्द्र शाहीलाई थप उपचारको लागि काठमाडौं ल्याइँयो
चितवन - अज्ञात समूहको आक्रमणबाट घाइते भएका ज्ञानेन्द्र शाहीको चितवन मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंमा ल्याइँएको छ ।
मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइँएको हो ।
प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।
शाहीमाथि आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले ढुंगामुडा गर्नुका साथै कुटपिटसमेत गरेका थिए ।
शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । शाहीले आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै आएका थिए ।
केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो।
आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।